बिर्तामोडमा वैशाख ३० बाट ‘टाइमलेस मोमेन्टस होटल’ सुरु हुँदै

बिर्तामोड, वैशाख २८ । आर्थिक समृद्धि र पर्यटन उद्योगलाई विकास गर्ने उद्देश्यसाथ बिर्तामोडमा टाइमलेस मोमेन्टस होटल आइतबारबाट सञ्चालनमा आउने भएको छ । होटलको उद्घाटन बस्नेत परिवारका अग्रज ९६ वर्षीय टुंगबहादुर बस्नेतले गर्ने छन् ।

पश्चिम बस स्टेन्डको दक्षिणपट्टि रहेको होटलमा करिब १२ करोड रुपैयाँ लगानी रहेको प्रबन्ध निर्देशक रोचक बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार टाइमलेसमा तारे होटल स्तरको परिकार र सेवा उपलब्ध हुने छन् । त्यस्तै, तीन तल्ला रहेको एउटै बिल्डिङमा छुट्टै रेस्टुरेन्ट हुनेछ । ‘तीनवटै तल्लामा फरकफरक किसिमका रेस्टुरेन्ट हुनेछन्’, बस्नेतले भने, यस्तो व्यवस्था पूर्वमै पहिलोपटक हो ।’ उनका अनुसार भुइँ तल्लामा कफी मात्र हुनेछ भने दोस्रो र तेस्रो तल्लामा भिन्नभिन्न परिकार र सेवा उपलब्ध हुनेछन् । उनी अस्टे्रलियामा होटल मेनेजमेन्ट अध्ययन गरेर फर्किएका हुन् ।

होटलका अध्यक्ष जितेन्द्र बस्नेतका अनुसार १४ कठ्ठा क्षेत्रफलमा रहेको होटलको विशेषता भनेको स्वस्थकर भोजन, घरायसी आतिथ्यता र मनग्गे पार्किङ सुविधा हो । उनले रेस्टुरेन्ट सञ्चालनमा आउने भए पनि होटल भने दसैँसम्ममा सुरु गर्ने लक्ष्य रहेको बताए । त्यस्तै, आगामी दिनमा होटलमा पूर्ण अर्गानिक उत्पादन भएको परिकार उपलब्ध गराउने लक्ष्य लिइएको बस्नेतले बताए । होटलमा स्विमिङको समेत व्यवस्था रहने बताइएको छ ।

होटलको व्यवस्थापन हेरिरहेका सुरज लामाका अनुसार होटलको फरकपन भनेको ग्राहकले सम्मानित महसुस गर्न सक्नु हो । ‘टाइमलेसमा आएका सबै पाहुनाले स्वागत र सम्मान के हो भन्ने बुझ सक्नु हुन्छ’, लामाले भने, ‘अरुतिर स्वागतको सिस्टम छैन, हामी गेटबाटै स्वागत गरेर टेबलसम्म र्पुयाउँछौँ ।’ उनले होटलमा नेपालकै उत्कृष्टमध्येका सेफ रहेको जानकारी दिए । अनुभवी र दक्ष कर्मचारीबाट ग्राहक सन्तुष्ट हुनु नै होटलको सफलता हुने उनले बताए ।

Facebook Comments