आईपीएलमा सन्दीपको शानदार प्रदर्शन

झापा, वैशाख । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले शनिबार इण्डियन प्रिमियर लिग (आइपीएल)मा डेब्यु गरे । दिल्ली डेयरडेभिल्सले सन्दीपलाई भारतीय कप्तान समेत रहेका विराट कोहलीको टोलीविरुद्ध डेब्यु गराएको थियो ।

दिल्लीले २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेसँगै सन्दीपले विश्वको सर्वाधिक चर्चा र पैसा भएको आइपिएल क्रिकेटमा समावेश हुने पहिलो नेपाली खेलाडी बनेका थिए । दिल्लीले ११ खेलमा सन्दीपलाई बेञ्चमै राखे पनि शनिबार १२औँ खेलमा डेब्यु गरायो । सन्दीपले दिल्ली प्रस्थान गर्नुअघि मौका पाए त्यसको अधिकतम उपयोग गर्ने बताएका थिए । नभन्दै सन्दीपले आफो डेब्युलाई अविष्मरणीय बनाएका छन् । दिल्लीले बैंग्लोरविरुद्ध विश्वका एकसेएक मानिएका ५ बलर प्रयोग गरेको थियो । जसमध्ये सन्दीप सर्वाधिक सफल बलर रहे ।

टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले दिएको १ सय ८२ रनको लक्ष्य लिएर मैदान उत्रेको बैंग्लोरविरुद्ध पहिलो ओभरमा नै सन्दीप बलिङ गर्न आएका थिए । ४ ओभर बलिङ गरेका सन्दीपले १ विकेट लिएर २५ रन खर्चे । दिल्लीका अन्य ४ बलरहरुमध्ये सन्दीप रन कम दिने मामलामा सफल रहे । टी २० क्रिकेटमा बलरको औसतलाई उसको क्षमतासँग दाजिन्छ । ४ ओभरमा सन्दीपको औषत ६.२५ रह्यो । अन्य बलरहरु अमित मिश्रा (८.२५), ट्रेन्ट बोल्ट (१०), जुनियर डाला (११.३३) र हर्षल पटेल (१२.७५) उनीभन्दा पछि रहे ।

विकेटका हिसाबले भने बोल्टले २ विकेट लिएका थिए । तर, उनले सन्दीपको भन्दा २५ रन बढी खर्चे । न्युजिल्यान्ड राष्ट्रिय टोलीका अनुभवी सदस्य उनी विश्वका उत्कृष्ट तीव्र गतिका बलरमध्येका एक हुन् । डेब्यु ब्वाइ सन्दीपलाई दिल्लीले पहिलो ओभरमै बलिङमा लगाएको थियो । सन्दीपले चार ओभरको स्पेलमा २५ रन मात्रै खर्चिएर १ विकेट लिदै उत्कृष्ट बलिङ गरे । सन्दीप र नेपालीहरुका लागि भने सबैभन्दा महत्वपूर्ण कुरा सन्दीपले विराट कोहली र एबी डिभिलियर्सविरुद्ध देखाएको परिपक्वता हो । सन्दीपले विराटको विकेट लिउन भन्ने चाहना धेरै नेपालीको थियो । त्यो सम्भव नभए पनि विराटविरुद्ध डेब्यु खेलमै सन्दीपले गज्जबको छाप छाडे ।

खेलपछि सन्दीपको नामै लिएर डिभिलियर्सले भने, ’१७ वर्षे सन्दीपको प्रदर्शन प्रशंसनीय थियो । यी युवाहरुले कसरी उत्कृष्ट प्रदर्शन गर्न सक्छन् म अचम्मित छु । यो विश्व क्रिकेटका लागि निकै राम्रो सन्देश हो । आजको दिन मलाई उनीहरुले उप्रेरणा दिए ।’

Facebook Comments