विपद् व्यवस्थापनका लागि क्षमता बढाउनुपर्नेमा जोड

बिर्तामोड, जेठ २। विपद् व्यवस्थापनका लागि स्थानीय सरकार र गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने देखिएको छ । विश्व मानवीय प्रतिवेदनका अनुसार विपद् व्यवस्थापनका लागि विभिन्न दातृ निकायबाट उपलब्ध हुने अधिकांश सहयोग रकम खर्च गर्न नसकी फिर्ता हुने गरेको छ ।

विपद् व्यवस्थापनका लागि प्राप्त हुने स्रोतमध्ये ३ प्रतिशत स्थानीय सरकार र ०.२१ प्रतिशत मात्र गैरसरकारी संस्थाहरुले खर्च गर्ने र बाँकी सम्बन्धित दातृ निकायमै फिर्ता हुने गरेको तथ्यांकले देखाएको छ ।

विपद् सम्बन्धी गर्नुपर्ने कार्यहरुबारे ज्ञानको कमि, अभिलेखीकरणमा दक्षताको कमिजस्ता कारणले स्थानीय सरकार तथा गैरसरकारी संस्थाहरुले प्राप्त सहयोग उपयोग गर्न नसकिइरहेको एसियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी) का नेपाल प्रमुख मानबहादुर थापाले बताए ।

झापाको बिर्तामोडमा मंगलबार सुरु ‘विपद् व्यवस्थापनमा पूर्वतयारी’ सम्बन्धी तीन दिने तालिममा आयोजक एडिपिसीका नेपाल प्रमुख थापाले नेपाल विपद्को अत्यन्त जोखिममा रहेको मुलुक भएकोले विपद् व्यवस्थापनका लागि सरोकारवालाहरुको कार्यदक्षता बढाउन आवश्यक रहेको उल्लेख गरे । विराट सामुदायिक अध्ययन केन्द्र र उत्थानशील विकास केन्द्र (कर्ड) समेतको व्यवस्थापनमा आयोजित सो तालिममा झापा, ताप्लेजुङ र सुनसरीका गरी ३० जनाको सहभागिता छ । तालिममा स्थानीय तह तथा गैरसरकारी संस्थाहरुमा आबद्ध पदाधिकारी-कर्मचारी सहभागी रहेको विराट सामुदायिक अध्ययन केन्द्रका सचिव रुद्र सिटौलाले जानकारी दिए ।

अमेरिकी नागरिक बिल गेट्सले स्थापना गरेको अन्तर्राष्ट्रिय सामाजिक संस्था ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा यो तालिम सातवटै प्रदेशमा सञ्चालन गरिने कर्डका लेखापाल सुधीर श्रेष्ठले जानकारी दिए ।

बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा सुरु तालिमको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गरेका थिए । उनले झापालगायत नेपालका धेरै जिल्ला विभिन्न खाले विपद्को जोखिममा रहेको भन्दै जिल्लाका स्थानीय तहले क्षमतागत कमजोरी हटाएर विपद् न्यूनीकरणको विषयमा काम गर्नुपर्ने बताए । उनले विपद् व्यवस्थापनसम्बन्धी जिल्ला सभाले केही नीति अगाडि सारेको बताउँदै नदी कटान र डुबानको समस्या हटाउन ठूला नदीहरु एकीकृत गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।

बिर्तामोड नगर प्रमुख शिवाकोटीले विपद्बाट जोगिन पूर्वतयारी आवश्यक रहेको बताए । उनले भने, ‘अव्यवस्थित बसेका सुकुम्बासीलाई जग्गा दिएर व्यवस्थित गर्न सके विपद् नै आउने थिएन ।’ विराट सामुदायिक अध्ययन केन्द्रका महेन्द्र कार्कीले सञ्चालन र सचिव रुद्र सिटौलाले स्वागत गरेको तालिममा एडिपिसीका प्रोजेक्ट मेनेजर सूर्य पौडेल, गैरसरकारी संस्था महासंघ नेपाल, १ नम्बर प्रदेश सचिव लखनलाल साहले सहजीकरण गरिरहेका छन् ।

बर्सेनि एक हजारजनाको मृत्य

विभिन्न खाले विपदका कारण नेपालमा बर्सेनि झण्डै एक हजार व्यक्तिको मृत्यु हुने गरेको छ । झण्डै दोब्बरको संख्यामा घाइते हुने गरेको तथ्यांकले देखाएको छ ।

तालिममा प्रस्तुत विवरणअनुसार नेपालमा बर्सेनि ८९० जनाको मृत्यु र १७७१ जना घाइते हुने गरेका छन् । एक वर्षमा ५ सय विपद्का घटना हुने गरेका छन् । १३१ करोड बराबरको भौतिक क्षति हुने गरेको छ भने एक लाख ३२ हजार १६१ घरपरिवार प्रभावित हुने गरेका छन् ।

आगलागी, बाढी-पहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरोलगायतका १२ किसिमका प्रकोपले नेपालमा बर्सेनि विपद् निम्त्याउने गरेको थापाले बताए । पछिल्लो ४६ वर्षको तथ्यांक हेर्ने हो भने नेपालमा २२ हजार २१६ वटा विपद्का घटना भएका छन् भने त्यसबाट ४० हजार ३७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ७९ हजार ७०२ जना घाइते भएका थिए भने ५९ लाख ४७ हजार २६८ घरपरिवार प्रभावित भएका थिए । विवरणमा २०७२ सालमा आएको महाभूकम्पको क्षति पनि समावेश गरिएको छ । विपद्बाट पाँच अर्ब ९१ करोड ९८ लाख ५५ हजार रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको छ ।

Facebook Comments