स्थापना दिवसमा आँखा परीक्षण

धाइजन, जेठ २ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको २८ औँ स्थापना दिवशको सन्दर्भ पारेर मंगलबार नि:शुल्क आँखा परीक्षण शिविर आयोजना गरिएको छ ।

युवा संघ झापाअन्तर्गत महिला विभागको आयोजना तथा मेची दिव्यज्योति आँखा अस्पताल इटाभट्टाको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो । मेचीनगर १४ धाइजन मोडस्थित रामजानकी मन्दिर परिसरमा सञ्चालित एक दिने शिविरको उद्घाटन एमालेका झापा अध्यक्ष चिन्तन पाठकले गरेका हुन्  । शिविर उद्घाटनअघि आयोजित कार्यक्रममा प्रमुख अतिथि पाठक, विशेष अतिथि युवा संघ नेपालका सचिव राजु कार्की, केन्द्रीय सदस्य पर्वतराज भण्डारी, दिव्यज्योति आइ एन्ड इयर केयर सेन्टर प्रालि व्यवस्थापन समिति सदस्य राम ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसक्रममा मेचीनगर कार्यपालिका सदस्य निरु परियार, मेची दिव्यज्योति आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत सुरेश सापकोटा, युवा संघ १ नम्बर प्रदेश कमिटी सदस्य सुरेश बुढाथोकी, दिपक बराल, झापा सचिव सुमन थापा, बिहानी साकोसका अध्यक्ष गोपिकृष्ण प्रसाईंलगायतको आतिथ्यता थियो ।

आयोजक विभागकी प्रमुख निर्मला आचार्य (निरु) को अध्यक्षतामा ‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ भन्ने मूल उद्घोषसहित आयोजित सो कार्यक्रमको सञ्चालन सचिव रोजिना पाण्डेले गरेकी थिइन् । मेची दिव्यज्योति आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत सुरेश सापकोटा नेतृत्वको ८ सदस्यीय टोलीले सेवाग्राहीको आँखा जाँच गरिरहेका छन् । टोलीमा अस्पतालका प्रशासक विकास घिमिरे, सिएमए शर्मिला कार्की, नेत्र सहायक आस्था चापागाईं, सहयोगीहरु राम ओली, गीता खड्का, सागर खड्का र सदीक्षा बिडारी छन् । २८ वर्षअघि २०४७ साल जेठ १ गते स्थापना भएको युवा संघ नेपालको संस्थापक संयोजकमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली थिए ।

शिविरमा ४ सय जना सेवाग्राहीले आँखा जँचाएका छन् । शिविरमा ४ वर्षका बालबालिकादेखि ९७ वर्षसम्मका वृद्धवृद्धाले सेवा लिएका हुन् । आँखा परीक्षण गराएकामध्ये ३९ जनामा मोतियाविन्दु, ११ जनामा मासु पलाएको, १ सय ८ जनामा दृष्टिदोष र ६० जनामा एलर्जी देखिएको अस्पतालका प्रशासक विकास घिमिरेले जानकारी दिए । मेची दिव्यज्योति आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत सुरेश सापकोटा नेतृत्वको ८ सदस्यीय टोलीले सेवाग्राहीको आँखा जाँच गरेको थियो ।

Facebook Comments