पुरानो गुम्बाको विकासमा जुट्दै स्थानीय

शनिश्चरे, जेठ २ । झापाको सबैभन्दा पुरानो भए पनि अपेक्षित विकास हुन नसकेको भन्दै स्थानीयबासी बौद्ध गुम्बाको विकासमा जुटेका छन् ।

अर्जुनधारा-९ मा कालिस्थान बौद्ध गुम्बा विशेष गरेर प्रचारप्रसार अभावकै कारण ओझेलमा परेको निष्कर्ष निकाल्दै स्थानीय गुम्बाको विकासमा जुटेका हुन् । २०३१ सालमा रिम्पोछे नर्वु छिरिङले औपचारिक रुपमा उद्घाटन गरेको गुम्बाका लागि २०२१ सालमा स्थानीय दलमान तामाङले एक बिघा २ कठ्ठा जग्गा प्रदान गरेका थिए ।

ओझेलमा परेकाले विकास हुन नसकेको भन्दै गुम्बाको स्तरोन्नति गर्न गुरुयोजना तयार भइरहेको अर्जुनधारा-१० का वडाध्यक्ष बलदेवसिंह गोम्देनले बताए । ‘गुम्बाको विकास गर्न बौद्ध धर्मावलम्बी मात्र नभई सबै जाति, समुदाय नै गुम्बाको संरक्षणमा जुटेकाले उत्साही छौँ’, उनले भने ।

२०३३ सालमै जिल्ला प्रशासनमा दर्ता भएको गुम्बा ०४२ सालमा व्यवस्थित रुपमा निर्माण गरिएको व्यवस्थापन समितिका संस्थापक अध्यक्ष सन्तबहादुर तामाङले बताए । उनका अनुसार स्थानीय धनसरी तामाङले दिएको जग्गा बिक्री गरी प्राप्त रकमबाट गुम्बा निर्माण गरिएको थियो । तर, स्थापनाको लामो समय बित्दा पनि ओझेलमा परेको भन्दै गुम्बासँगै जग्गामा आवश्यक पूर्वाधारहरु निर्माण, लामाहरुको पाठशालालगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको पनि समितिका अध्यक्ष तामाङले बताए ।

२०६२ देखि २०६४ सालसम्म लामाहरुको लागि पाठशाला समेत सञ्चालन गरिएको सो गुम्बा समिति र सम्बन्धित निकायको बेवास्तासँगै प्रचारप्रसार अभावको कारण ओझेलमा परेको समितिका संस्थापक सचिव लक्ष्मीप्रसाद मिश्रले बताए ।

यसैबीच, धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले पहिलोपटक सो गुम्बामा बुधबारदेखि श्रीमद् भागवत सप्ताह महापुराण हुने भएको छ । आगामी जेठ ८ गते सम्पन्न महापुराण सम्पन्न गर्न समितिका अध्यक्ष तामाङको संयोजकत्वमा एक सय ५१ सदस्यीय मूल आयोजक समितिसहित विभिन्न पाँचवटा उपसमिति गठन गरिएको प्रचारप्रसार संयोजक गोम्देनले बताए ।

नेपाल बौद्ध धर्मका आचार्य (खेम्पो) कमल भण्डारी र सनातन धर्मका आचार्य रोहितराज महाराजबाट महापुराणको व्याख्या, धुव्र शास्त्रीबाट पाठ पारायण तथा लामा गुरुहरुबाट छोई गरिने भएको छ । जीवनउपयोगी सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गरिने महापुराण सम्पन्न गर्न अनुमानित पाँच लाख रुपैयाँ लाग्ने समितिका सचिव कृष्णप्रसाद चापागाईंले बताए ।

Facebook Comments