१४ करोड लगानीमा पूर्वकै ठुलो ह्याचरी

बिर्तामोड र कनकाई नगरपालिकाको सीमा भएर बग्ने घाग्रा खोला किनारको जग्गा लिजमा लिएर बिर्तामोडका उर्जाशील व्यवसायीले १४ करोड रुपैयाँको लगानीमा ह्याचरी सञ्चालनमा ल्याएका छन् ।

२०७३ वैशाखबाट सञ्चालनमा आएको भाटभटेनी इन्टरनेसनल ह्याचरी प्रालि मेची अञ्चलकै पहिलो र ठूलो ह्याचरी हो । भरत ओडारी, तारा प्रसाईं, निर्जा शिवाकोटी र युवराज गुरुङ गरी चारजना लगानीकर्ता मिलेर भाटभटेनी ह्याचरी सञ्चालनमा ल्याएका हुन् ।

बिर्तामोड नगरपालिका-२ र कनकाई नगरपालिका-८ भित्र पर्ने जग्गामा हाल ह्याचरी सञ्चालनमा छ । बिर्तामोडस्थित वीर अमरसिंह माविको १ बिघा ११ कठ्ठा जग्गा २५ वर्षका लागि लिजमा लिएर ह्याचरी सुरु गरिएको ओडारीले बताए । सम्पूर्ण प्रक्रिया पूरा गरी सञ्चालनमा ल्याइएको ह्याचरीको क्षेत्रफल बढाएर हाल ४ बिघा २ कठ्ठा र्पुयाइएको छ । नजिकै रहेको ३ बिघा १७ कठ्ठामा पनि ह्याचरी विस्तार गर्ने सञ्चालकको तयारी छ । ह्याचरी सुरुवात गर्दा सेन्चुरी बैंकले लगानी गरिदिएको सञ्चालकमध्येका ओडारीले बताए । ह्याचरीले ०७४ साउनबाट चल्ला उत्पादन गर्न सुरु गरेको थियो ।

ह्याचरीबाट हाल हप्तामा १२ हजार चल्ला उत्पादन हुँदै आएको छ । ‘फुल फेजमा सञ्चालनमा आएपछि हामी हप्ताको ६० हजार चल्ला उत्पादन गर्न सक्छौँ’, सञ्चालक ओडारीले भने । ह्याचरीमा हाल ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यहाँबाट उत्पादन भएका कुखुराका चल्ला १ नम्बर प्रदेशका सबै जिल्लामा पुग्ने गरेको सञ्चालक ओडारीले जानकारी दिए ।

ह्याचरीमा ‘मलेसियन कब-५’ जातका कुखुरा पालिएको छ । हाल ह्याचरीमा मलेसियाबाट ल्याइएका ७ हजार कुखुरा छन् । यो जातको कुखुराले वर्षैभर अण्डा दिने गरेको अर्का सञ्चालक तारा प्रसाईंले बताए । ‘यो जातको कुखुराले ७५ हप्तासम्म दिनहुँ अण्डा पार्छ’, उनले भने, ‘अण्डाबाट उत्पादन हुने चल्ला ३६ दिनमा साढे तीन किलोसम्मको हुन्छन् ।’

आफूहरुले ५० रुपैयाँ प्रतिगोटाका दरले चल्ला बेच्ने गरेको सञ्चालक प्रसाईंले बताए । उत्पादनको ३६ घण्टाभित्र किसानको खोरसम्म चल्ला र्पुयाइसक्नुपर्ने उनको भनाइ छ । ह्याचरीमा पालिकएका कुखुराका लागि आवश्यक दाना पनि आफ उत्पादन गर्ने गरिएको सञ्चालक प्रसाईंले जानकारी दिए ।

झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्य गरी ह्याचरी सञ्चालनमा ल्याइएको हो । ह्याचरीको आफै स्वामित्वमा रहेको एक बिघा ११ कट्ठा जग्गामा चल्ला उत्पादन गर्ने मेसिनसहितको भौतिक संरचना तयार गरिएको छ ।
विद्यालयको जग्गा ८० हजार रुपैयाँ वार्षिक भाडा बुझाउने गरी लिजमा लिइएको हो । तीनतीन वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको छ । हाल अण्डा पार्ने ‘प्यारेन्स’ कुखुराको एक दिने चल्ला मलेसियाबाट आयात हुने गरेको छ । ‘कब ५००’ जातको उक्त कुखुराको चल्ला ह्याचरीसम्म ल्याउन करिब साढे छ डलर खर्च हुने गरेको छ । अरुतिर भने ‘कब ४००’ जातको कुखुराको चल्ला पाइन्छ ।

Facebook Comments