विपन्नलाई हँसाएर र सम्मान गरेर खुला दिसामुक्त घोषणा

बिर्तामोड, जेठ २ । गरिब, जग्गाविहीन र पछाडि पारिएको वर्गलाई सधैँभरि समस्याको रुपमा हेर्ने परिपाटीको ठीक विपरीत बिर्तामोड ८ गरामनीले विपन्नहरुलाई सम्मान गर्दै वडालाई खुला दिसामुक्त घोषणा गरेको छ ।

बुधबार गरामनीमा आयोजित समारोहमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई वडालाई खुला दिसामुक्त भएको घोषणा गरे । ‘सबै वडामा विपन्नहरुलाई समस्या ठानियो’, वडाध्यक्ष अजय कार्की भन्छन्, ‘तर, हामी विपन्नलाई समस्या होइन, उनीहरुको अवस्थालाई सम्बोधन गर्ने हाम्रो दायित्व सम्झिँदै योजना बनाएर अघि बढ्यौँ ।’

सुकुम्बासी, चिया बगानमा काम गर्ने मजदूर र विपन्नसमेत गरी २ सयभन्दा बढी परिवारलाई वडाको तर्फबाट शौचालय निर्माण सामग्री प्रदान गरी चर्पी बनाउन लगाइएको थियो । ‘शौचालय निर्माण गरी त्यसको समुचित प्रयोग गर्नु सभ्य समाजको सूचक हो’, कार्की भन्छन्, ‘त्यसैले, साविक गरामनी गाविस रहँदाको बाँकी रकममा वडाको तर्फबाट थप रकम व्यवस्था गरी विपन्न र असहायलाई सामग्री प्रदान गरियो ।’

सरसफाई सामाजिक रुपान्तरणको सूचक भएकोले आफूहरुको समेत पूर्ण सहयोग, समर्थन र समर्पण रहेको बताउँछन् वडास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष कृष्ण विष्ट । ‘सक्ने परिवारलाई सहजीकरण गरी बनाउन लगाइयो’, उनले भने, ‘नसक्ने परिवारलाई सहयोग गरियो । अब पूर्ण सरसफाईको यात्रामा अघि बढ्ने योजना बनाएका छौँ ।’

खुला दिसामुक्त घोषणा समारोहमा नगर प्रमुख शिवाकोटीले खुला दिसामुक्त अभियान राष्ट्रको इज्जत भएको बताइरहँदा वडाध्यक्ष कार्कीले पूर्ण सरसफाई अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

वडा कार्यालयले विपन्नहरुलाई निर्माण सामग्री सहयोग मात्र गरेन, खुला दिसामुक्त समारोहमा पत्र लेखेरै निमन्त्रणा ग¥यो, घोषणा समारोहमा सम्मान ग¥यो र उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत समेत ग¥यो । ‘जनतााको खुसी नै हाम्रो लक्ष्य हो’, वडाध्यक्ष कार्की भन्छन्, ‘त्यसैले उहाँहरुलाई सम्मानित गरियो ।’

चर्पी निर्माणलाई प्राथमिकता दिँदै राम्रो चर्पी बनाउने नन्दकुमारी शेर्पा, थोरै जग्गा भएर घरभित्रै चर्पी बनाउने मोहन नेपाली, उत्कृष्ट चर्पी बनाउने मोहन हस्दा, सन्तोष लिम्बू, लुखिराम हस्दा र दिलिप राजवंशीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
घोषणा समारोहका वक्ताहरुले वडाध्यक्ष कार्की र सहजकर्ता नमिता बस्नेत काफ्लेको खुलेर तारिफ गरे । ‘नमिता बहिनी एक वर्षअघिदेखि निरन्तर लागिरहनुभएको छ, सबैका चर्पीमा पुग्नुभएको छ’, वडा सदस्य दिपक भट्टराईले भने, ‘हामीले वडा नागरिक मञ्चको तर्फबाट ६ वर्षअघिदेखि गरिरहेको प्रयासलाई यहाँहरुले सार्थक बनाइदिनुभयो ।’

ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्माले योजना, प्रतिबद्धता र निरन्तरको सहजीकरणका कारण खुला दिसामुक्त घोषणा गर्न सफल भएको बताए । पूर्ण सरसफाई अभियानमा समेत निरन्तर लाग्न उनले सुझाव दिए ।

बिर्तामोड–९ का सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष तुलसी काफ्लेले वडा नम्बर ८ को प्रशंसा गर्दै आफ्नो वडासमेत एक साताभित्र खुला दिसामुक्त घोषणा हुने जनाए । टोल विकास समितिका एकराज विष्ट, सहारा नेपालका किसन गौतम, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका रुद्रबहादुर न्यौपानेलगायतले सरसफाई प्रबद्र्धनमा वडाको प्रयासको सरहाना गरे । कार्यक्रमका अध्यक्ष कृष्ण विष्टले सरसफाई प्रतिवेदन प्रस्तुत गरे भने वडाअध्यक्ष अजय कार्कीले वडाको पूर्ण सरसफाई र विकास निर्माणबारे प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comments