‘बोक्सी लागेको भनेको घाउ त क्यान्सर पो रहेछ’

दमक, जेठ ४ । छ महिनाअघि गालामा सानो दाग देखिएपछि झापा गौरादह नगरपालिका-५ डाँडाटोलकी ३५ वर्षीया फमुनी मर्डीले खासै वास्ता गरिनन् । उनलाई घाउ सामान्य होला भन्ने भयो । सामान्य ठानिएको त्यस दागले डल्लोको रुप लियो र क्रमश: बढ्दै गयो । त्यसपछि भने उनलाई खटपटी भयो ।

स्वास्थ्य चौकी पनि टाढा थिएन । आधा घण्टाको पैदलमा पुगिन्थ्यो । विपन्न र पिछडिएको सन्थाल समुदायमा चिकित्सकभन्दा अझै धामीझाँक्रीकै विश्वास गर्ने प्रचलन छ । त्यसैले, फूलमुनी पनि उपचारका लागि स्वास्थ्य चौकीभन्दा धामी-झाँक्री खोज्दै दौडिइन् । कतिले देउता बिग्रिएको भने कतिले बोक्सीले टोकेर दाग बसेको भने । भारतको खरैया भन्ने ठाउँमा नाम चलेका धामी छन् भन्ने सुनेपछि आफन्तसहित उनी भारतसम्म पुगिन् । तर, रोग बीसको उन्नाइस भएन ।

‘बिरामी भएपछि जसले जे भन्छन्, त्यो त मान्नै पर्दो रहेछ’, फूलमुनीका पति तल्लु मर्डीले भने, ‘धामीकोमा गएपछि उनीहरुले भनेको गर्नै र्पयो । तर जति प्रयास गरेपनि गालाको डल्लो बढ्ने क्रम रोकिएन ।’ भारतकै सामान्य स्वास्थ्य संस्था र धामीझाँक्रीको मागअनुसार भाकल बुझाउँदा, पूजाआजा गर्दा घरको जायजेथा बेचेर झण्डै एक लाख रुपैयाँ सकियो । रोग निको हुने छाँटकाँट देखिएन । उनीहरू घर फर्किएर आए ।

फूलमनीका छरछिमेकी र गाउँका जान्ने बुझेले उनको अनुहारमा पलाएको मासु कुनै रोग हुन सक्ने भन्दै विराटनगरको कोसी अस्पताल जान सुझाव दिए । सरसहयोग पनि र्पुयाए । अस्पतालका चिकित्सकले क्यान्सरको आशंका गर्दै बायोस्पी गराएर हेर्न भने । चिकित्सकको सल्लाहअनुसार नै झण्डै दश दिनअघि उनले विराटनगरको न्युरो अस्पतालमा बायोस्पी गराइन् । रिपोर्टका आधारमा उनलाई क्यान्सर भएको बताउँदै चिकित्सकले भरतपुर क्यान्सर अस्पताल जान सुझाव दिएपछि मर्डी परिवारमा अन्धकार छाएको छ ।

सुकुम्बासी परिवारका उनीहरू कृषि मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका फूलमुनीका चार सन्तान छन् । डाक्टरले जति सक्दो छिटो भरतपुर जानु भन्ने सुझाव दिएका छन् । तर, भरतपुरसम्म जाने गाडी भाडासमेत नभएको फूलमनीका पति तल्लुको दुखेसो पोख्छन् । ‘बिरामी हुनेबित्तिकै डाक्टरकोमा जाने पैसा थिएन धामी लगाउँदा निको हुन्छ कि भनेर खर्च गरेँ’, उनले भने, ‘अहिले हस्पिटल जानेसम्म पैसा छैन ।’

Facebook Comments