नेकपा बन्यो दक्षिण एसियाकै ठुलो कम्युनिष्ट पार्टी

काठमाडौँ, जेठ ४ । नेपालका दुई ठुला कम्युनिष्ट घटक नेकपा एमाले र माओवादी केन्द्र मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेपछि दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी बनेको छ । यो पार्टी एसियाकै तेस्रो ठुलो पार्टी बन्न सफल भएको छ । एसियामा चीन र भियतनामपछि ‘नेपाल कम्युनिष्ट पार्टी’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

५६ वर्षपछि एकीकरण

देशका दुई ठूला वामपन्थी घटक नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसँगै ५६ वर्षपछि नेपाल कम्युनिष्ट पार्टी एकीकृत भएको छ । २०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट शंखला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ । २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य, नरबहादुर कर्मचार्य, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालमा फुटेको थियो । त्यसपछि केशरजंग रायमाझी राजाको पक्षमा पञ्चायतमा विलय भए भने पुष्पलाल र तुलसीलाल अमात्यहरुले अलगअलग पार्टी बनाए । २०२८ सालमा तत्कालीन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले मार्क्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।

२०३४ सालमा मोहनविक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धार बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो । २०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्तत: एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवनराज आश्रितको स्मृति दिवस पारेर एकीकृत भएका हुन् । विभाजनका २० हजार ४४० दिनपछि नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्माले बताए । पुनर्गठित पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छन् भने ९ सदस्यीय सचिवालय बनाइएको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।

६ बुँदे घोषणापत्र एकता जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउनु भएको बताएका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाही चलाउन वा अहंकार देखाउन नभई देश बनाउन एकता गरेको बताए । अर्का अध्यक्ष प्रचण्डले समृद्धिको जनचाहना पूरा गर्न पार्टी एकताको निर्णय लिइएको बताए ।

दक्षिण एसियाको पहिलो, एसियाको तेस्रो ठूलो

एकीकरणसँगै नेपाल कम्युनिष्ट पार्टी दक्षिण एसियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टी मात्र बनेको छैन, इतिहासकै ठूलो पार्टीसमेत बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।

२०१५ सालको पहिलो आम निर्वाचनमा कांग्रेसले दुई तिहाई बहुमत ल्याउँदा जम्मा ४ सिट जितेको कम्युनिष्ट पार्टी अब करिब दुई तिहाईको हैसियतमा पुगेको छ । एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीले केन्द्र, प्रदेश र स्थायी तह सबैतिर बहुमत ओगटेको छ । लोकप्रिय मतमा कम्युनिष्ट पार्टी बहुमतभन्दा माथि अर्थात करिब ५३ प्रतिशत स्थापित भएको छ । सातमध्ये ६ प्रदेश र ७५३ मध्ये ४०३ स्थानीय तहमा कम्युनिष्ट पार्टीको सरकार छन् ।
प्रतिनिधिसभामा २७५ सिटमध्ये नेपाल कम्युनिष्ट पार्टी एक्लैको १७४ सिट भएको छ भने प्रमुख विपक्षी नेपाली कांग्रेस निकै कमजोर बनेको छ । कांग्रेसको जम्मा ६३ सिट छ । पार्टी एकीकरण घोषणा गर्दै प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस अब कम्युनिष्ट पार्टीको प्रतिस्पर्धी नरहेको बताए ।

कांग्रेस प्रतिस्पर्धी होइन : ओली

ओलीले सुखी नेपाली समृद्ध नेपालको अभियानमा कांग्रेसलाई पनि सँगै लैजाने र वैधानिक प्रतिपक्षको हैसियतको सम्मान गर्ने बताए । उनले जनताले मन नपराउने एजेण्डा बोकेर थप अलोकप्रियताको बाटोमा नजान कांग्रेसलाई आग्रह गरे । ओलीले नेपाल कम्युनिष्ट पार्टीले अब अर्को चुनावमा दुई तिहाई मात्र जितेर नपुग्ने भन्दै तीन चौथाई स्थान जित्ने दाबी समेत गरे । अर्का अध्यक्ष प्रचण्डले भने कांग्रेसबारे केही टिप्पणी गरेनन् । बरु सत्तामा पुगेपछि भ्रष्टीकरण हुने रोग नेपाल कम्युनिष्ट पार्टीमा लाग्न नदिने र अझ बलियो पार्टी बनाउने बताए ।

नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएसँगै अब एमाले र माओवादी केन्द्रको अस्थित्व विधिवत समाप्त भएको छ । पार्टीको सिद्धान्त मार्क्सवाद लेनिनवाद र कार्यक्रम समाजवाद उन्मुख जनताको जनवाद हुनेछ । चुनाव चिन्ह सूर्य रहनेछ ।

समृद्धिमा जोड

यसैबीच, नेकपा एमाले र माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले मुलुकको स्थिरता, विकास र समृद्धिमा जोड दिएका छन् । बिहीबार राष्ट्रिय सभागृहबाट गरिएको एकतापछिको नयाँ पार्टी घोषणा कार्यक्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल दुवैले अब पार्टीको एक मात्र उद्देश्य मुलुक र जनताको स्थिरता, विकास र समृद्धि हुने बताए ।

ओलीले पार्टी एकताबाट कसैले पनि विचलित हुन नपर्ने उल्लेख गर्दै पार्टी एकता गरिबी र विकासको विरुद्ध भएको उल्लेख गर्दै स्थिरता, विकास र समृद्धिको लागि पार्टी एकता भएको उल्लेख गरे । उनीभन्दा अघि बोलेका दाहालले पनि जनताको लागि एकीकृत पार्टीले स्थिरता, विकास र समृद्धि ल्याउने बताएका थिए ।

मिसिएको होइन, अन्तरघुलन

त्यसैगरी, दुवै नेताले पार्टी मिसिएको नभएर अन्तरघुलन भएको बताए । ’जसरी हिन्द महासागरमा गएर कुन कोसीको, कुन सेतीको भनेर पानी खोजेर सकिँदैन, अब पार्टीमा पनि को कहाँबाट आएको भनेर खोज्न सकिन्न’, ओलीले आफो सम्बोधनमा भने, ’अब पार्टीमा को कहाँबाट आएको भनेर खोजेर सकिन्न । यो मिसिएको होइन, अन्तरघुलन भएको हो ।’ यसअघि बोलेका पार्टीका अर्का अध्यक्ष दाहालले पनि यही शैलीमा मन्तव्य राखेका थिए । उनले हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्ने भन्दै पानीलाई हाइड्रोजन र अक्सिजनमा छुट्याउन नसकिने उल्लेख गर्दै पार्टी एकता पनि त्यस्तै रहेको बताएका थिए ।

नयाँ युगमा प्रवेश

नयाँ पार्टीका दुवै नेताले मुलुक नयाँ युगमा प्रवेश गरेको बताए । दुवैको एउटै मत थियो, पार्टी एकताले नेपाली कम्युनिष्ट आन्दोलनमा मात्र होइन, मुलुककै इतिहासमा महत्वपूर्ण दिन हो । ओलीले मुलुकमा नयाँ युगको सुरुवात भएको र नयाँ इतिहासको रचना भएको बताए भने दाहालले यसलाई महान फड्कोको संज्ञा दिए ।

भेदभाव नहुने

ओलीले आफो मन्तव्यको क्रममा को कुन पार्टीबाट आएको भन्ने कुराको आधारमा कुनै किसिमको पक्षपात र विभेद नगरिने बताए । उनले भने, ’विगतको योगदान, वर्तमानको सक्रियता र भविष्यको सम्भावनालाई हेरेर जिम्मेवारी दिइनेछ ।

बालुवाटारमा सपथ, नाममा अन्डरलाइन

एकता घोषणाअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई पार्टीको केन्द्रीय कार्यसमितिको संयुक्त बैठक बसेको थियो । नेताहरुले त्यही सामुहिक सपथ लिए । लगत्तै अध्यक्षद्वयले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पनि दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी यसअघि नै निर्वाचन आयोगमा दर्ता भइसकेकाले अन्डरलाइन दिइएको हो । यद्यपि आयोगले निर्णय गरेको छैन ।

पुनर्गठित पार्टीको तत्कालीन कार्यक्रम ‘समाजवाद उन्मुख जनताको जनवाद’ हुने भएको छ । एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औँ शताब्दीको जनवाद भन्दै आएको थियो । दुवैलाई आगामी महाधिवेशनमा बहसमा लगिने भएको छ । अहिले अघि सारिएको समाजवाद उन्मुख जनताको जनवादको अन्तरवस्तु भने जबज र एक्काइसौँ शताब्दीको जनवादबाटै लिइएका छन् ।

९ सदस्यीय केन्द्रीय सचिवालय

पुनर्गठित पार्टी दैनिक कार्यसञ्चालनका लागि ९ सदस्यीय केन्द्रीय सचिवालय बनाइएको छ । पार्टी एकता संयोजन समितिमा एक सदस्य थपेर सचिवालय बनाइएको हो । पार्टीमा दुई अध्यक्ष ओली र प्रचण्ड रहनेछन् । कार्यकारी अधिकार दुवै अध्यक्षमा हुनेछ । त्यसपछिको वरियतामा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल हुनेछन् । श्रेष्ठलाई प्रवक्ता र पौडेललाई महासचिवको जिम्मेवारी दिइएको छ । एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ, जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् । त्यस्तै, ४४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २४१ र माओवादीबाट २०० नेता राख्ने सहमति भएको छ । एकीकृत पार्टीको कमिटी गठनका सबै प्रक्रिया तीन महिनाभित्र पूरा गर्ने नेताहरुले बताएका छन् ।

एकतामा आउन आह्वान

एकता घोषणा कार्यक्रममा नेताहरुले अन्य दलहरुलाई पार्टी एकतामा आउन आह्वान गरे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओलीले भने, ‘के ससाना पसल थालेर बस्ने आउनुस् । कुनै गलत भावना छैन । एक जुट भएर देश बनाऔँ ।’ नमिल्ने टेढा कुराहरु गरेर कुनामा बस्नु कम्युनिष्ट सिद्धान्त नभएको उनले बताए । विप्लव समूहतर्फ संकेत गर्दै उनले बानी बिग्रिएको केटाकेटी जस्तो सुतली बम पड्काएर हिँडेको भन्दै एकता प्रक्रियामा आउन आह्वान गरे ।

Facebook Comments