सम्भव भयो प्रविणाको उपचार

शनिश्चरे, जेठ ४ । लडेर फियो च्यातिएकी अर्जुनधारा-७ कि एक बालिकाको उपचार सहयोग संकलनबाट सम्भव भएको छ ।

एक साताअघि साथीसँग खेल्ने क्रममा लड्न पुग्दा उनको पेटको भित्री भागमा फियो च्यातिएर बिर्तामोडिको विर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो । वैदेशिक रोजगारीकै क्रममा ८ वर्षअघि बुवाको निधन भएको र आमा पनि अर्कैसँग विवाह गरी गएकाले आफन्तको शरणमा रहेकी १० वर्षीया प्रविणा राईको उपचारमा समस्या आएपछि स्थानीय युवाले आर्थिक संकलन गरेका थिए ।

अभियानमा संलग्न स्थानीय राजकुमारी शेर्पा र कमल पोखरेलको नेतृत्वमा आर्थिक संकलन गरी बालिकाको उपचार सम्भव भएको हो । उनीहरुका अनुसार बालिकाको उपचारमा ३९ हजार ७३० रुपैयाँ खर्च भएको छ । विर्ता सिटीले पनि केही रकम छुट गरिदिएको अभियन्ता राजकुमारी शेर्पाले बताइन् ।

आर्थिक संकलनका क्रममा साथीभाइबाट ७ नम्बर वडाका अध्यक्ष नविन ढुंगानाले १० हजार, काउनका तर्फबाट सन्तोष नेम्वाङले १० हजार, धनबहादुर राई र दिपेन्द्र कटुवालबाट संकलित ७ हजार २३० रुपैयाँ, प्रेमा शर्माबाट १० हजार आठ सय, सुरेन धिमालबाट सात हजार र सन्तोष मेचेबाट पाँच सय गरी ५० हजार ५३० रुपैयाँ संकलन भएको अर्का अभियन्ता पोखरेलले बताए । उनीहरुले बिहीबार बालिकाका आफन्त, सञ्चारकर्मी र जनप्रतिनिधिको रोहवरमा हिसाब सार्वजनिक गरे । बचत १० हजार आठ सय रुपैयाँ समस्यामा परेका अन्य पीडितलाई सहयोग गरिने भएको छ । उनीहरुले सहयोगी हातलाई धन्यवाद दिएका छन् ।

Facebook Comments