चलचित्र पत्रकारिता पुरस्कार घोषणा

चलचित्र पत्रकार संघले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७५’ को घोषणा गरेको छ । चलचित्र पत्रकार संघ नेपालका पूर्वउपाध्यक्ष तथा हाल रमाइलो टिभीका अध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साललाई चलचित्र पत्रकारिता सम्मान प्रदान गरिने भएको छ ।

पाण्डे र लम्सालले चलचित्र पत्रकारितामा र्पुयाएको योगदानको कदर गर्दै संघले सम्मान गर्न लागेको हो । त्यस्तै, संघका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । चलचित्र पत्रकारितामा देखिएकोे सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको संघका महासचिव अनिल यादवले जानकारी दिए ।

पुरस्कारस्वरुप २१ हजार नगद, ताम्रपत्र र ट्रफी प्रदान गरिनेछ । साथै, फिल्मी खबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष) लाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । पत्रकारितामा आवद्ध भएको छोटो समयमा नै चलचित्र पत्रकारितामा सक्रिय दाहाललाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ । आगामी जेठ ७ मा हुन गइरहेको १९ औँ स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए ।

Facebook Comments