नेपालमा रेल ल्याउँदा भाले पोथी मिलाएर ल्याउनु पर्छ !

वैशाख महिना निकै गर्मी । बाहिर एउटा होइन, पाँचवटा घाम लागेझैँ निस्किसक्नु छैन । तातै भए पनि पङ्खाको हावा खाउँ भनेर स्वीच थिचेँ, बिजुली पनि गएछ । रेडियो खोलेर समाचार सुनेँ सबै निराशै निराशा ! सवारी दुर्घटना, घुस लिँदालिँदै कर्मचारी फउ, नेताका डुकर््याइँ, बालिका बलात्कार, तेत्तीस केजी सुन गायब, रक्षक नै भक्षक, कता हो भारतले सीमा मिच्यो अरे, मोदी नेपाल आउँदा कलश लिएर स्वागतको निम्ति घर-घरबाट निस्कनु पर्ने सरकारी उर्दी, एमाले र माओवादीको एकता र अनेकता, नेताहरुको गर्जन, भाषणको ध्वनि प्रदूषण, यस्तै यस्तै समाचार ! वाक्क लागेर रेडियो बन्द गर्दिएँ । नजिकै मोबाइल थियो यसो कोट्याएर सामाजिक सञ्जालभित्र पसेँ त्यहाँ पनि लालबुझक्कडहरुका आ-आफ्नै कुरा ! कतै असन्तोष, कतै आक्रोश र आवेगको अभिव्यक्ति ! व्यङ्ग्य, विद्रोह, उपहास ! नेपाली राजनीति, हाम्रा नेता, कामाउकान्ते कार्यकर्ता, निरीह जनता इत्यादि विषयका आला काँचा अभिव्यक्ति ! सुन्न र पढ्न नै हैरान लाग्ने कुरा ! कुन सत्य, कुन असत्य, कसका कुरा ठिक, कसका बेठिक ! पर्गेल्न छिन्किन, निफन्न बित्थाँ मस्तिष्कलाई बोझ । मोबाइल मिल्काएर आँखा बन्द गरेँ, ओच्छ्यानमा झकाउन थालेँछु क्यार !

तन्द्रामा मेरो मस्तिष्कको टेप रेकर्ड वायुवेगले दौडिन थालेछ । म हतारमा रहेछु । कतै जानलाई झोला झ्याम्टाको तयारी भइरहेको थियो । यात्राको टिकट काटिएको थिएन । चाँडोभन्दा चाँडो काँकरभिट्टा पुगेर यात्राको सुरुवात गर्नु थियो । काँकरभिट्टादेखि चितवनसम्म इन्डियाले दिएको रेलमा चड्ने, चितवनबाट सानो गाडी चडेर मुङ्लिन पुग्नु पर्ने त्यहाँ लुम्बिनी पुगेर पोखरा हुँदै फर्किएको चाइनिज रेल पक्रिएर काठमाडौँ पुग्नु पर्ने । मुङ्लिन जङ्सनमा कति समय प्लेट फर्ममा बिताउनु पर्ने हो भन्ने तनावले पनि सताइरहेको थियो । खै कसरी म काँकरभिट्टा पुगिसकेछु । काँकरभिट्टामा ठगाइमा परिन्छ भन्ने मेरो मानसिकताको भित्री तहमा रहेको मनोविज्ञानले सन्त्रस्त बनाइरहेको थियो । रेलको टिकट काट्ने काउन्टरमा निकै भिड थियो । बाहिर ब्ल्याकमा टिकट लिए मात्रै हो नत्र नसकिने रहेछ भनेर कोही मान्छे कुरा गर्दै थिए । म एक्लै बसेर सोच्न थालेँछु – नेपाली रेललाई पनि आर.ए.को चिलगाडीकै दशा बनाउने रहेछन् । टिकट किन्न जाँदा छैन भन्ने, जहाज रित्तै उडाउने । कमिसनबिना कुनै कामको सिन्को नभाँच्ने । अनि फेरि सम्झिएँछु – त्रिपुरेश्वरदेखि झुरसम्मको ट्रली बस कर्मचारीले नट बल्टु कवाडी समेत बेचेर खाए । नेपाली रेलको पनि त्यही हविगत हुन्छ कि भन्ने सन्त्रासले मलाई गाँजेछ ।

कसो-कसो गरी रेलको टिकट लिएँछु । रातो रङको यात्रुबाहक रेल काँकरभिट्टाबाट प्रस्थान र्गयो, धुलाबारी स्टेसनमा एकछिन रोकिएझैँ भयो अनि बिर्तामोड जङ्सनमा पुगेर अडियो । कताबाट हो समाचार पनि आइरहेको सुनिँदै थियो – एमाले-माओवादी एकता अन्योलमा, घुस लिँदालिँदै कर्मचारी प्रहरीको फन्दामा, तेत्तीस केजी सुन गायब, रक्षक नै भक्षक, सिन्डिकेट तोडिएको घोषणा भए पनि स्थिति यथावत्, सुन काण्डले लहरो तान्दा पहरो गर्जियो, पहेँलो आच्चीले खोलो, पैनी, बाटोमा पाइला टेक्ने ठाउँ नभए पनि फलानो नगरपालिका खुल्ला दिसामुक्त घोषणा गरियो, पूर्वपश्चिम राजमार्गमा जताततै होटल एम्बुस, एम्बुसबाट जोगिन आफ्नो बन्दोबस्त यात्रुहरुले आफै गर्नुपर्ने सुझाव, कता हो बालिकाको बलात्कार, वैदेशिक रोजगारमा पुगेका महिलाहरुको घरेलु हिंसा, यौन हिंसा, विदेशिएका कति जना नेपाली कामदार बन्द बाकसमा काठमाडौँ ओर्लिए …………….. आदि यस्तै यस्तै समाचारले यात्रुहरुमा निराशा घोलिरहेको थियो । निजी र प्राइभेट रुपमा सञ्चालित शिक्षा र स्वास्थ्यका पसल र सटरहरुले कसरी शोषण गरिरहेका छन् भन्ने सम्बन्धमा पत्रकारको विशेष रिपोर्ट पनि समाचारमा दिइँदै थियो । त्यसपछि रेल छुकछुक गर्दै बिर्तामोडबाट पश्चिम लाग्यो । अनेक स्टेशन र जङसन पार गर्दै रेल ढल्केबर पुगेपछि हेटौँडामा खाना खाने भए कस्तो के खाने हो अर्डर माग्दै एउटा मान्छे आयो । मैले साधा खानाको अडर गरेँ । त्यसले अलिक मुख बिर्गायो ! माछा मासु झिल्मिले पानीको अर्डर गर्दिया भए उ खुसी हुन्थ्यो, उसलाई पोसाउँथ्यो क्यार ! काठमाडौँ जाने आउने दिवा र रात्री बसहरुमा यात्रु होटल एम्बुसमा परेझैँ रेलका यात्रुु पनि परिने हो कि भन्ने गहिरो डर पनि लाग्दै थियो । सुशासन गर्ने सरकार काठमाडौँमै बस्छ, देश दुनियाँमा, दूरदेशमा के के भइराखेको छ उसले थाहै पाउँदैन । सरकारी मान्छे, नेता मन्त्रीहरु यसरी बस र रेलमा यात्रा गर्दैनन् । उनीहरु कि चिलगाडी चड्छन कि सरकारी गाडीमै सुइकिन्छन् । बबुराहरुलाई होटल एम्बुसको कुरै थाहा छैन ।

म तन्द्रामा आफ्नै देशमा रेल चड्न पाएकोमा अत्यन्तै प्रफुल्ल भएछु । बाइस वर्षको उमेरमा सिलिगुडी गएर पहिलो पटक रेल देखेको थिएँ । आज चालिस वर्षपछि आफ्नै देशमा छिमेकी देशको सहयोगमै भए पनि रेल चड्न पाएकोमा आफूलाई भाग्यमानी ठान्दै थिएँ । छिमेकी देशले वर्षौ वर्षदेखि देशको सिमाना मिचेको, पटक पटक नाकाबन्दी गरेर हुर्मत लिएको, अनेक विकास योजनाहरु ओगटेर राखेको, तराई भूभाग डुबानमा पारेको, असमान सन्धि सम्झौता गर्दै हेपाइँ दलाइँ गरेको कुरालाई यो रेलले मधुवेष्ठित गरेको पो हो कि ! आ ………. जेसुकै होस् ! रेल चड्न पाइयो सन्तोष गर्नै पर्छ । यो रेल पनि नेपाल वायुसेवाको विमानझँै, त्रिपुरेश्वर-झुर चल्ने ट्रली बस झै वंश नास भएर सिद्धिने हो वा यही रेलले धेरै पाठापाठी ब्याएर वंश वृद्धि गर्दै देशैभरि रेल नै रेल बनाउने हो ? यो कुरो चाहि ँभविष्यले देखाउला । हामीले छिमेकी देशसँग रेल माग्दा एउटा देशसँग भाले रेल अर्कोसँग पोथी रेल माथ्नु पर्थ्यो । अनि भारतीय र चिनियाँको खच्चड ठेक्पा बहुत तेजिलो बिजुली कन्ठे रेल जन्मिन्थ्यो । खै यो आफू चढेको रेल पनि भाले रेल हो कि पोथी रोकिएको बेलामा पछाडि गएर हेर्नुपर्ला !

रेल हेटौँडा पुगेको मात्रै के थियो, त्यहाँ चर्को नारावाजी, बन्द हड्ताल जुलुश चल्दै रहेछ । हैन के हो यो भनेर बुझेको बसवाला र ट्रकवालाको आन्दोलन रहेछ । त्यत्रो पचास साठी डिब्बा भएको रेलले यात्रुहरु र तिनका सरसमान बोकिदिएपछि हामीचाहिँ के गरिखानु ? रेल सेवा बन्द गरिनु पर्छ । नत्र हाम्रा बस र ट्रकहरु सरकारले किनिदिनु पर्छ ! हाम्रो घर खर्च, छोराछोरीको पठनपाठन, बिहे खर्च सरकारले व्यहोर्नु पर्छ ! सरोकारवाला हामीलाई नसोधी देशमा रेल भितर््याउने ? सरकारको एकलौटी निर्णय मान्य छैन ! यस्तो अधिनायकवादी शैलीको भण्डाफोर गर्छौ ………….. आदि नारा गुन्जिरहेका थिए । यत्तिकैमा एउटा स्वाँठ तिघ्रे सुरिएर रेलको चक्काको हावा खोल्ने भन्दै रेलमुनी पस्यो रेलको फलामे चक्का देखेपछि चख्लायँसै परेर निलो हरियो भएर फर्कियो । ढल्केबरमा अडर गरेको खाना प्लाष्टिक प्याकेटमा त्यहाँ वितरण भयो । त्यसपछि रेल छुक्छुक् गर्दै पश्चिम चितवन तर्फ लाग्यो ।

म चितवत भरतपुर पुगेपछि रेलबाट ओर्लिएँ । मलाई चाँडो भन्दा चाँडो मुङ्लिन पुगेर चाइनिज रेल पक्रिएर काठमाडौँ पुग्नु थियो । काँकरभिट्टा, बिराटनगर, धरान, इलाम, लाहान, वीरगञ्ज जनकपुरबाट काठमाडौँ जाने बसमा चढेर मुङ्लिनसम्म जाने प्रयत्न गरेँ । तर, त्यहाँका पुराना थोत्रा कवाडी ट्याक्सीले मलाई ती बसमा चढ्न दिएनन् । यत्रो राजमार्गमा मेरो गोजीको पैसाले मन लागेको गाडीमा चड्न नपाउने यो कुन शासन हो ? म एक पटक चर्किएँ ! काठमाडौँको गाडीमा चड्ने भए काठमाडौँकै टिकट काट भन्दै एउटा मुन्द्रे खोये हातमा टिकट बोकेर आयो । मलाई सबै ट्याक्सीवाला मिलेर घेरे । त्यसपछि म विवश भएर त्यसकै कवाडी धराप ट्याक्सीमा, उसकै समयमा उसले मागेजति पैसा तिरेर, सरकार भन्ने जन्तु जनावरलाई सराप्तै ज्यान जोखिम हुुँदै मुङ्लिन पुगेँ ।

मुङ्लिन निकै ठूलो रेलको जङ्सन रहेछ । प्लेटफर्ममा धेरै मान्छेहरु थिए । आधा घण्टापछि त्रिशुली पारीबाट छक्छक् गर्दै चाइनिज हरियो रेल आइपुग्यो । यात्रुहरु दौडधुप गर्दै चड्न थाले । म पनि मुस्किलले एउटा जेनेरल डिब्बामा चढेर आफ्नो सिट ओगट्न सफल भएँ । सर्प हिँडेझैँ बाङ्गो टिङ्गो बाटामा रेल हिड्न थाल्यो ठाउँ ठाउँमा टाउको र पुच्छर जोडिन खोज्थ्यो । रेलको गति तीव्र थियो । मेरो चेतना अलिअलि जाग्न खोजेछ क्यार – हैन रेलको बाटो बनेकै थिएन कसरी पो कुद्दैछ भनेर यसो हेरेँछु । राजमार्गको किनारामा काठका तखता र बटम ओच्छ्याएको रहेछ त्यसैमा पो कुद्दै रहेछ । चाँडै नै रेल नौबिसे पुगेर एउटा अध्यारो कालो सुरुङ भित्र पस्यो पन्ध्र मिनट पछि ट्वाँवाँ गरेर कराउँदै बलम्बु टेलिकमको भुँइ टावर भए ठाउँमा रेल फुत्तै निस्कियो । म खुसीले अर्धचेतना मै कराएँछु । कसैले छ्याप्प पानी छ्यापेर – हैन यो मान्छे दिउँसै किन बौलाएको भनेपछि पो म पूर्ण चेतमा आएँ, ब्युँझिए ! थुइक्क आफ्नै ओच्छ्यानमै पो पल्टिराख्या !!

Facebook Comments