बम विष्फोटको चौतर्फी निन्दा

आशंकामा तामाङ पक्राउ

दमक, जेठ ७ । दमक नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष तथा राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर समितिका अध्यक्ष भीमप्रसाद पौडेलको घरमा भएको बम विष्फोटको घटनाप्रति चौतर्फी निन्दा गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसहित मानवअधिकार संगठनले सोमबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर वडाध्यक्ष पौडेलको घरमा गरिएको बम विष्फोटमा संलग्न दोषीमाथि छानबिन गरी कडा कारबाही गर्न माग गरेका हुन् । राप्रपा क्षेत्रीय सचिव हेम सुवेदी र दमक नगर सचिव अर्जुनकृष्ण रेग्मीले संयुक्त विज्ञप्ति निकालेर त्यस्ता आपराधिक कार्यको भत्र्सना गरेका हुन् । पार्टीले सोमबार नै शान्ति सुरक्षाको माग गर्दै इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र दमक नगरपालिकामा समेत ज्ञापनपत्र बुझाइएको पार्टी केन्द्रीय सदस्य टिकाराम खरेलले बताए ।
यसैगरी, झापा अध्यक्ष अम्बरबहादुर विष्टले विज्ञप्ति निकालेर आप्mना नेता तथा वडाध्यक्ष समेत रहेका पौडेलको घरमा अज्ञात समूहले आइतबार राति गराएको शक्तिशाली बम विष्फोट घटनाको निन्दा गरेका छन् । त्यस्तै, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाले समेत बम विष्फोट घटनाको भत्सर्ना गरेका छन् ।
दुई दिनअघि मात्र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले दमकको विवादित बजारस्थल क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासीलाई प्रशासन लगाएर उठिबास गराउन मुख्य भूमिका निर्वाह गरेको भन्दै वडाध्यक्ष पौडेलसहित नगर प्रमुख रोमनाथ ओलीलाई त्यसै नछाड्ने विज्ञप्तिमार्फत चेतावनी दिएको केही घण्टा नबित्दै बम विष्फोट भएको थियो । लिम्बुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद झापाका प्रमुख सुमनसिंह पौडेलको हस्ताक्षारमा जारी विज्ञप्तिमा त्यस्तो चेतावनी दिएको उल्लेख छ । सोही संगठनले नै वडाध्यक्षको घरमा विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यसैबीच, प्रहरीले बम विष्फोटको घटनामा संलग्न भएको आशंकामा दमक–७ का मिठ्ठु तामाङलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । तामाङलाई सादा पोशाकमा आएका प्रहरीले घरैबाट सोमबार बिहान अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो । त्यहाँका सामाजिक अगुवा समेत रहेका तामाङलाई अन्धाधुन्ध नियन्त्रणमा लिएकोमा आपत्ति जनाउँदै स्थानीय पीडित संघर्ष समितिले उनको सकुशल रिहाइको माग गरेका छन् । आइतबार राति साढे ८ बजेतिर अज्ञात समूहले वडाध्यक्षको घरलाई लक्षित गरी शक्तिशाली बम विष्फोट गराएको थियो । विष्फोटको छर्रा लागेर दमक–८ की सेमु राई र तिलोचन पोखरेल घाइते भएका छन् । हात र खुट्टामा चोट लागेका घाइते दुवैको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

Facebook Comments