न्याय खोज्दै १७ वर्षीया किशोरी

उर्लाबारी, जेठ ११ । मोरङको पथरीशनिश्चरे-५ की एक किशोरी जबरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीया छोरी काखमा च्यापेर न्याय खोजिरहेकी छन् । उनी कहिले प्रहरीमा त कहिले अधिकारकर्मीको ढोका ढक्ढक्याइ रहेकी छन् ।

उनले बुधबार इलाका प्रहरी कार्यालय पथरीमा पुगेर श्रीमानसँग नाता प्रमाणित गराई घरमा बस्ने वातावरण मिलाइदिन गुहार मागेकी छन् । १४ वर्षको उमेरमा पथरीशनिश्चरे ५ का छिमेकी अर्जुन धिमालले जबरजस्ती गर्दा ति किशोरी गर्भवती भएकी थिइन् । धिमालले करणी भएको कुरा सार्वजनिक भए मारिदिने धम्की दिएपछि किशोरीले वास्तविकता लुकाएकी थिइन् । तर, सत्य छिपेन । ६ महिनापछि किशोरी गर्भवती भएको समाजमा हल्ला चल्यो । त्यसपछि अर्जुनले गर्भपतन गराउन पथरी, दमक र इटहरीका स्वास्थ्य केन्द्रमा र्पुयाए । तर, गर्भवतीको उमेर १४ वर्षको मात्र भएकोले गर्भपतन सम्भव भएन ।

अर्जुनले समाजका केही अगुवा र नातेदारको उपस्थितिमा किशोरीलाई जिम्मा लिए । तर, केटापक्षले अर्जुनलाई छुटाएर झापाको बिर्तामोडमा बस्ने बन्दोबस्त मिलाइदियो । ३ महिनापछि छोरी जन्मिइन् । छोरी जन्मिएपछि किशोरीलाई पनि झापा र्पुयाइयो । किशोरीले न श्रीमानको माया पाउन सकिन् न त सासूससुराको साथ पाउन सकिन् । दैनिक कुटपिट यातना र धम्की खेपेकी किशोरी रगतपछे भएर पुन: माइत फर्किन् । २ वर्षयता माइतमा बस्दै आएकी किशोरीसँग न विवाह दर्ता छ न बच्चाको जन्मदर्ता नै । नागरिकता लिने उमेर नपुगेकोले नागरिकता हुने कुरै भएन ।

महिला तथा वालबालिका केन्द्र विराटनगरकी महिला संयोजक गीता कट्टेलले किशोरीलाई पुनर्स्थापना गर्न सहयोग गरिरहेकी छन् । कट्टेलले भन्छिन्, ‘किशोरीलाई न्याय दिनका लागि कानुनी बाटोको खोजी भइरहेको छ । जसरी पनि उनलाई घरमा बस्ने वातावरण दिलाउने छौँ ।’ इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले भने, ‘पीडितको उजुरीका आधारमा न्यायको बाटो खोल्ने प्रक्रिया सुरु गर्छौं ।’ केटालाई फउ गरेर ल्याउने प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । किशोरी भने केटासँग नाता प्रमाणित गरी बस्न पाउनुपर्ने बताउँदै आएकी छन् ।

Facebook Comments