प्रधानमन्त्रीको गृहनगरमा छैन सेफ हाउस

लोकनाथ रिजाल

दमक, जेठ ११ । प्रधानमन्त्री केपी ओलीको गृहनगरमा अहिले ठुल्ठुला विकासे परियोजना सञ्चालन भइरहेका छन् । विकासको हिसाबले अरु नगरपालिकाभन्दा अगाडि रहेको दमक नगरपालिकाभित्र सडकमा अलपत्र परेका बालबालिका तथा महिलाका लागि भने एउटा सुरक्षित घर भने छैन ।

घटना वैशाख ५ गते बुधबार दिउँसोको हो । इलाका प्रहरी कार्यालय दमकको भेन दमक नगरपालिका हुँइकिएर आयो । भेनबाट दुई युवतीलाई उपप्रमुख गीता अधिकारी भएको कक्षमा र्पुयाइयो । कमल गाउँपालिकामा अर्काको घरमा काम गर्दै आएकी अन्दाजी २५ वर्षकी तारा हेमरम र उनकी १५ वर्षीया बहिनी अनिता हेमरमलाई काम गर्ने ठाउँबाट निकालिदिएपछि उनीहरु बिचल्ली अवस्थामा दमकको सडकमा भौँतारिरहेकोले सुरक्षित व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले अधिकारीसमक्ष आग्रह गरे ।

नगरपालिकामा बिचल्लीमा परेकालाई सुरक्षा दिने ‘सेफ हाउस’ नभएकै कारण उनीहरुलाई माइती नेपाल काँकरभिट्टामा केही दिनका लागि जिम्मा लगाइयो । अब उनीहरुलाई कहाँ राख्ने भन्ने विषय नगरपालिकाकै लागि टाउको दुखाइको विषय बनेको छ ।

त्यस्तै, केही समयअघि दमकमा बेवारिसे अवस्थामा एकजना बालक भेटिए । उनको अभिभावकको टुंगो नलागुन्जेल ती बालकलाई नगरपालिकाको पहलमा उर्लाबारीको नमुना अनाथ आश्रम र्पुयाइयो । महिनौँ दिन बितिसक्यो ती बालकको अभिभावक पत्ता लाग्न सकेको छैन । तर, नगरपालिकाले आफ्नो टाउकोमा आइपरेको समस्या अर्कैतिर पन्छाइदियो ।

प्रधानमन्त्री ओलीको गृहनगर दमकमा सबै सेवा सुबिधा भए पनि यसरी अलपत्र परेका महिला, बालबालिका तथा वृद्धवृद्धाका लागि राख्ने सुरक्षित घर छैन । सुरक्षित घर नहुँदा यसरी दिनहुँजसो अलपत्र परेकाहरुलाई कहाँ राख्ने भन्ने कुरा नगरपालिकाको लागि गम्भीर विषय बन्दै गएको छ । अलपत्र अवस्थामा भेटिएकालाई विभिन्न संघसंस्था गुहारेर राख्नुपर्ने बाध्यता रहेको उपप्रमुख अधिकारीले बताइन् । अहिलेसम्म अनाथ, दुर्व्यसनमा फसेका बालबालिका, मानसिक सन्तुलन गुमाएका दिनहुँजसो भेटिने गरेको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए ।

उनीहरुलाई त्यसै छोड्दा कुनै अप्रिय घटना हुन सक्ने डर रहेकोले पनि उनीहरु उचित व्यवस्थापन गर्न आवश्यक रहेको उनको बुझाइ छ । गिरीले भने, ‘कहिलेकाहीँ बालिका तथा महिलाहरु नै सडक फुटपाथमा रातको समयमा अलपत्र अवस्थामा भेटिन्छन् । त्यस्तो अवस्थामा उनीहरुमाथि बलात्कार हुन सक्ने हुन्छ । कहिले दुर्व्यसनीहरु भेटिन्छ उनीहरुले चोरी गर्न सक्छन् । यसले समाजमा असुरक्षा बढाउँछ । त्यसैले पनि सुरक्षित घरको आवश्यकता छ ।’

विशेष गरेर मानसिक असन्तुलन भएका मानिस, आर्थिक अवस्था कमजोर भएकालाई घरपरिवारले बेवास्ता गर्ने र खानलाउन नपाएपछि फुटपाथमा पुग्ने गरेको उनले बताए । नगरपालिकाले एउटा गृहको निर्माण गरेर समस्यामा परेका मनिसलाई अस्थायी रुपमा २-४ दिन सुरक्षित रुपमा बस्न सक्ने सुविधासहितको सेफ हाउस बनाउन आवश्यक रहेको पत्रकार विष्णु पोखरेलले बताउँछन् । दमकमा कुनै महिलाको बलात्कार भयो भने नगरकै बेइज्जत हुने भएको हुँदा यस्तो कुरामा नगरपालिका सचेत बन्नुपर्ने उनको भनाइ छ । तत्काल एउटा सेफ हाउसको निर्माण गरे यो समस्या समाधान हुने पोखरेलले बताए ।

यस्ता मनिसलाई विभिन्न संघसंस्थाले हालसम्म सहयोग गर्दै आए पनि यो दीर्घकालीन र पर्याप्त नभएको लायन्स क्लब अफ माउन्ट एभरेस्ट दमकका अध्यक्ष रुद्र गौतमले बताए । उनले नगरपालिकाले नै यस विषयमा ठोस कदम चाल्नुपर्ने बताए ।

नगरपालिकाले भने यसरी अलपत्र अवस्थामा रहेकाहरुलाई तत्काल उद्धार गर्ने गरेको उपप्रमुख अधिकारीले बताइन् । उनले धेरै महिलाहरुलाई विभिन्न ठाउँमा आग्रह गरेर राखिएको जानकारी दिइन् । सेफ हाउस निर्माणका लागि तत्काल बजेट नरहेको अधिकारीको भनाइ छ । यो समस्याप्रति आफजानकार रहेको बताउँदै उनले अब चाँडै संघसंस्थाको सहकार्यमा सुरक्षित घर बनाउने तयारी गरिरहेको बताइन् ।

दमक नगरपालिकाले सहयोग गरे तत्काल सेफ हाउस बनाउन सकिने ग्रामीण तथा सहरी विकास नेपालकी अध्यक्ष तथा सामाजिक अभियन्ता वसन्तलक्ष्मी उदासले बताइन् । उनले दमकमा सेफ हाउसको एकदमै आवश्यकता रहेको बताउँदै सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने बताइन् । दमकमा यस्ता किसिमको समस्यामा महिला तथा बालबालिका पर्ने गरेका छन् । नगरपालिका, प्रहरी, लायन्स क्लब अफ दमक माउन्ट एभरेस्ट, पत्रकार तथा विभिन्न संघसंस्थाहरुको विशेष पहलमा उनीहरुको उद्धार हँुदै आइरहेको छ ।

Facebook Comments