‘सुनकेसरी’ले काट्यो करोडको केक

गत शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको हरर फिल्म ‘सुनकेसरी’ले बक्सअफिसमा करोडको झण्डा फहराउन सफल भएको छ । प्रदर्शनको पाँच दिनसम्ममा यो फिल्मको अल नेपाल कलेक्सन १ करोड ४ लाख रहेको निर्मात्री तथा अभिनेत्री ऋचा शर्माले जानकारी दिइन् ।
मंगलबार काठमाडौँको कुमारी हलमा अभिनेत्री शर्मा र निर्देशक अर्पण थापाले संयुक्त रुपमा करोडको केक काटेर खुसीयाली मनाएका छन् । १ करोड ३० लाखमा निर्माण भएको यो फिल्मको कलेक्सन सिंगल थिएटरमा कमजोर रहे पनि मल्टिप्लेक्समा राम्रो छ । हलिउड र बलिउडका कुनै ठूला फिल्म प्रदर्शनमा नआउनुले यो फिल्मलाई ठूलो राहत मिलेको छ । दर्शकबाट ‘सुनकेसरी’लाई खासै राम्रो कमेन्ट भने प्राप्त छैन । हलमा तर्सिन गएका दर्शक हाँसेर फर्किएका छन् । हरर जनराका फिल्मको हकमा यसलाई राम्रो मानिन्न ।

केक काट्दै गर्दा ऋचाले भनिन्, ‘हामीले दर्शकबाट सबैखाले प्रतिक्रिया पायौं । हामीबाट धेरै कमी-कमजोरी भएका छन् । ‘सुनकेसरी-२’ मा भने ती कमजोरी परिपूर्ति गर्ने प्रयास गर्नेछौं ।’ ‘सुनकेसरी’को सिक्वेल २०२० सम्ममा दर्शकले हेर्न पाउने उनले वाचा गरेकी छन् ।

यस फिल्ममा ऋचाका अलावा भीम न्यौपाने, रविन्द्र झा, सुनिल पराजुली, तमन्ना शर्मालगायतका कलाकारहरुको अभिनय छ । ऋचाले अष्ट्रेलियामा बस्दै आएका भीम न्यौपानेसँगको सहकार्यमा यो फिल्म निर्माण गरेकी हुन् ।

उक्त फिल्ममा अष्ट्रेलियन दरबार बुटिक होटलका पहिलो पाहुना र भुतप्रेतबीचको गतिविधीलाई मुख्य कथा बनाइएको छ । फिल्ममा शर्मिला सापकोटा र धर्मराज अधिकारी सह-निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मनोज अधिकारी छन् ।

Facebook Comments