चासोक तङनामको आयव्यय सार्वजनिक

दुधे, जेठ २० । शिवसताक्षीको याक्थुङ नालिफुङवा चुम्भोले गएको मंसिरमा गरिएको चासोक तङनामको आयव्यय सार्वजनिक गरेको छ । लिम्बू जातिको महान चाड चासोक तङनामकोे शिवसताक्षीको दुधेमा एक कार्यक्रम गरी आयव्यय सार्वजनिक गरेको हो ।

चुम्भोले चासोक तङनाममा शिवसताक्षी नगरपालिका, सहारा साकोस र विभिन्न दाताहरुबाट १० लाख ६० हजार १८४ रकम संकलन गरेको थियो । त्यसमा ९ लाख ५३ हजार ३२९ खर्च भएको आर्थिक संयोजक तुला बोखिमले बताए । जसमा १ लाख ६ हजार ८३५ रुपैयाँ बैंकमा रहेको जनाकारी गराइएकोे थियो ।

त्यसैगरी, चुम्भोले चासोक तङनाम कार्यक्रममा आर्थिक सहयोग प्रदान गर्ने सहारा साकोसलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र चुम्भोका अध्यक्ष वीरबल जवेगुले सहारा साकोसका उपाध्यक्ष पवित्रा लिम्बूलाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

चासोक तङनाममा शिवसताक्षी नगरपालिकाबाट १ लाख ५० हजार र सहारा साकोसले ५० हजार सहयोग गरेको चम्भोका अध्यक्ष वीरबल जवेगुले बताए । चुम्भोले अन्य आर्थिक सहयोग गर्ने एक सयजना दाताहरु र चासोक तङनाम सफल बनाउन योगदान दिने ९ जनालाई पनि सम्मानपत्र र खादा ओढाएर सम्मान गरेको छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले लिम्बू जातिको भाषा, धर्म र संस्कृतिको संरक्षणमा लाग्नुपर्ने बताए । उनीहरुले लिम्बू जाति अनेकमा एक भएको भन्दै आफ्नो मौलिक, परम्परागत लोप हुन नदिन र आउने पीडितहरुलाई पनि धर्म, संस्कृति, भाषा, लिपिको ज्ञानका लागि नगर क्षेत्रमा विभिन्न कार्यक्रमहरु गरी सबै लिम्बूहरुलाई एक ठाउँमा उभिन आग्रह गरेका थिए ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल, पूर्वसांसद तारासम यङ्या, समाजसेवी रोशन थोप्रा, लिम्बू भाषा साहित्यका युवा भगिहाङ नेम्वाङलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम याक्थुङ नालिफ्वा चुम्भोका सचिव भीम लिवाङले सञ्चालन गरेका थिए ।

Facebook Comments