सन्तोषको सांगीतिक सहारा बन्दै टेम्पो

एकराज प्रधान
सांगीतिक कर्ममा लाग्नेहरुमध्ये अधिकांशको संघर्ष सहज हुँदैन । गायन क्षेत्रमा धेरै उदाउने र बिलाउने क्रम बढी छ । सांगीतिक यात्रामा एकपटक उदाएर हराएका इलाम सूर्योदय-८ (कन्याम पाल्टाङे)का सन्तोष शिवा फेरि उदाउने प्रयासमा छन् ।

२०५६ सालमै रेडियो नेपालको भोकल टेस्टमा टप टेनमा पर्न सफल उनी संगीतलाई आफ्नो जिन्दगी ठान्छन् । बाल्यकालदेखि नै कन्यामको डाँडाकाँडा घन्काउने गरेको उनी सुनाउँछन् । ‘मेरो गीत सुनेपछि गाउँलेहरु सन्तोष घाँस काट्न आएछ भनेर रमित लाग्थे’, उनले विगत सम्झिए, ‘मैले गाएको गीत पहिलो चोटि रेडियो नेपालमा प्रसारण हुँदा आलु खन्दै गरेकी धनरुपा भन्ने दिदीले सुन्नु भएछ । रेडियो बोकेर गाउँमा कुदेर हाम्रो घरमा पुग्दा चाहिँ गीत पनि सक्किएछ ।’

सांगीतिक परिवारिक माहोलमा हुर्किए पनि उनले आधिकारिक रुपमा संगीत नसिकी रेडियो नेपालमा परीक्षा दिएका थिए । उनलाई संगीतकार सागर गौतमले रेडियो नेपालसम्म र्पुयाएका थिए । रेडियो नेपालमा अभ्यास गीत गाउँदा संगीतकार सुरेश अधिकारी प्रभावित भएर प्रशंसा गरेको सम्झिन्छन् उनी । पछि ललित कला केन्द्रमा उनले संगीत सिके । त्यो सफलता र हौसलाले उनको सांगीतिक मनलाई थप प्रेरित र्गयो ।

उनले आफ्नो गायकी कलालाई ‘अनुराग’ गीतिएल्बममा स्वर दिएर सुरुवात गरे । ‘तिमीसँग जिन्दगीमा जिउन पाए…’, ‘तिमीलाई कता कता देखे जस्तो लाग्छ…’ जस्ता गीतबाट उनले श्रोताको मन जिते । प्रशंसा र हौसला बटुले । तर, एल्बम उत्पादनदेखि बिक्रीसम्मको यात्रा उनका लागि निकै कठिन बन्यो । पहिलो एल्बमले नै उनलाई थकायो ।

‘०५६ सालमा गाईको बाच्छा समेत बेचेर ८० हजार खर्च गरेर एल्बम निकालियो’, उनले भने, ‘एल्बम निकाल्ने कम्पनी पनि नयाँ र आफू पनि नयाँ भएकाले बजार लिन सकिएन, चलेन । लगानी डुब्यो ।’ सांगीतिक जीवनमा लागेको यही ठेसका कारण उनले फेरि अर्को एल्बम निकाल्ने आँट गर्न सकेनन् । उनलाई गाएर बाँच्न गाह्रो रहेछ भन्ने लाग्यो । कमजोर आर्थिक अवस्थाका बाबजुद सांगीतिक संघर्ष गरेका उनी त्यसपछि गुमनाम बने ।

अहिले उनी फिक्कलमा अटो रिक्साबाट जीवन धान्दैछन् । फिक्कलमा बजाज टेम्पो कुदाउने उनी आफू पहिलो चालक भएको बताउँछन् उनी । ‘म बेरोजगार बनेर भौँतारिरहेको थिएँ’, उनले भने, ‘बिर्तामोड झरेको बेला चूडामणि पौडेल सरसँग भेट भयो, उहाँले मलाई रोजगार दिनुभयो, बजाज टेम्पोको मालिक पनि बनाउनुभो ।’ पौडेल बजाज आरई तीन पाङ्ग्रेको बिर्तामोडस्थित आधिकारिक बिक्रेता हलेसी ट्रेड लिंकका सञ्चालक हुन् ।

टेम्पो चलाउन थालेसँगै सन्तोषको दैनिकी सहज बन्दै गएको छ । डेढ वर्षदेखि टेम्पो चलाउँदै आएका उनी पहाडमा यात्रुका लागि टेम्पो सहज भएको सुनाउँछन् । टेम्पोबाट दिनमा १२-१५ सय रुपैयाँ कमाइ हुने बताउँदै उनले भने, ‘टेम्पोको कमाइबाट केही पैसा जोगाएर फेरि सांगीतिक यात्रालाई निरन्तरता दिने मन छ ।’ गायनमा अघि बढ्न नसके पनि आफू सधैँ संगीतसँगै रहेको उनी बताउँछन् । उनको टेम्पोमा हरपल सुमधुर गीत-संगीत गुञ्जिरहन्छ । ‘म नेपालका उत्कृष्ट गायकका सेलेक्टेड गीत मात्र बजाउँछु र सुन्छु’, भन्छन्, ‘कति त मैले बजाउने गीत सुन्नैका लागि पनि टेम्पो चढ्ने गर्छन् ।’ उनी टेम्पोलाई सांगीतिक सहाराको रुपमा लिन्छन् ।

संगीतको बारेमा सरकारले पनि सोच्नुपर्ने उनको धारणा छ । ‘गीत-संगीत कला हो तर आजभोलि पैसा भए जस्तोसुकैले गीत गाउने र चर्चामा आउने गरेको देखिन्छ’, उनले भने, ‘पैसा होइन, कला र गीत-संगीतको मर्मलाई हेरिनुपर्छ ।’ एकचोटि निस्किएको गीत दोहोरिएर सुनियोस् भन्छन् उनी । गीत संगीतमा आउन चाहनेलाई उनी संगीतलाई बुझेर र पोख्त बनेर आउन आग्रह गर्छन् ।

Facebook Comments