दुर्घटनामा परेका श्यामलाई आर्थिक सहयोग

उर्लाबारी, जेठ २५ । सवारी दुर्घटनामा परी कम्मरदेखि तलको आधा पाटो नै नचल्ने अवस्थामा पुगेका झापा दमक १ का श्याम आले मगरको उपाचारको लागि नगद १ लाख ७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरिएको छ ।

रोजगारका लागि मकाउमा कार्यरत गीता मगर शेर्पा र हङकङबाट सोनी रानाको अगुवाईमा संकलित उक्त रकम बिहीबार हस्तान्तरण गरिएको हो । पत्रकार तेजन खड्का, विवेक हिङमाङ, किशोर श्रेष्ठ, महेन्द्र थेगिमले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरे । आलेको उपचारमा समस्या भएको र आफन्त कोही नभएको समाचार उर्लाबारी फोकस टिभीमार्फत सार्वजनिक भएपछि गीता र सोनीले आफ साथीभाइ र शुभेच्छुकबाट संकलन गरेर आर्थिक सहयोग पठाएका थिए । सहयोग रकम पाएपछि भावुक भन्दै आलेले नयाँ जीवन पाउने आशा पलाएको बताए । उनले सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे । आलेलाई छिमेकीहरुले साथ सहयोग गरिरहेका छन् ।

स्थानीय मीरा घतानी र देव घतानीले आलेको लागि मानवीय रुपमा सकेको सहयोग गरिरहेका छन् । आलेलाई समाजसेवी ममता राना मगरले यसअघि खाद्यान्य सहयोग गरेकी थिइन् । ह्वील चियरमा बस्ने आले हिँड्न नसक्ने अवस्थामा पुगेपछि दिसापिसाब गर्न पनि समस्या छ । आलेको ऋणपान गरेर दमकको लाइफलाइन अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दा २ लाख खर्च भइसकेको छ । हाल उनलाई काठमाडौँमा गएर उपचार गर्न चिकित्सकहरुले सुझाएका छन् । तर, आर्थिक अभावले उपचारमा समस्या भइरहेको छ ।

Facebook Comments