उर्लाबारी पूर्ण खोपयुक्त नगरपालिका

उर्लाबारी, जेठ २९ । मोरङको उर्लाबारीलाई मंगलबार पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाले एक कार्यक्रम आयोजना गरी उर्लाबारीलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेको छ ।
नगर क्षेत्रका बालबालिकालाई शारीरिक तथा मानसिक रूपले सुरक्षित तुल्याउने उद्देश्यले पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको नगर प्रमुख खड्ग फागोले बताए । बाल विवाह रोक्न नगरपालिकाले २० वर्षपछि मात्र विवाह गर्न सन्देश प्रवाह गर्ने फागोले बताए । भ्रुण हत्यालाई निरुत्साहित गरिने उल्लेख गर्दै फागोले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप पुरस्कारको व्यवस्था गरिने बताए । सबै मिलेर उर्लाबारीलाई राम्रो नगरपालिका बनाउनुपर्नेमा जोड दिँदै नगर प्रमुख फागोले विकासविरुद्ध फैल्याइने झूठो अपवाहप्रति सचेत रहन समेत नगरबासीलाई आग्रह गरे ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले उर्लाबारी नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्नु सकारात्मक भएको टिप्पणी गरे । नेपालमा धेरै राजनीतिक क्रान्ति भएकोले अब विकासको क्रान्तितर्फ सबैजना लाग्नुपर्ने उनको भनाइ थियो ।
नगर प्रमुख फागोको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य प्रमुख रामनन्द यादवले समेत बोलेका थिए ।

Facebook Comments