यसपाली बिरालोले गर्नेछ विश्वकपको भविष्यवाणी !

आगामी बिहीबारबाट सुरु हुने फिफा विश्वकप नजिकिँदै गर्दा मानिसहरुले कसले जित्ला भनेर आआफा भविष्यवाणीहरु गर्न थालिसकेका छन् ।

विश्वकपमा सुरुवातमा ४८ समूहका खेलहरु हुनेछन् । उनीहरुबाट दोस्रो चरणका लागि छनोट भएका १६ हुँदै ८ टोलीले क्वार्टरफाइनल खेल्नेछन् । त्यसपछि सेमिफाइनल र अनि फाइनलको टुंगो एक महिनापछि जुलाई १५ मा लाग्नेछ । सन् २०१० को विश्वकपमा पल नामको अक्टोपसले गरेको भविष्यवाणी मेल खाएपछि ऊ सेलिब्रटी बनेको थियो । उसले समूह चरणमा गरेका भविष्यवाणीहरु मेल खाएको थियो । यस्तै फाइनलमा उसले स्पेन जित्छ भनेर गरेको भविष्यवाणी पनि सही ठहरियो ।

यस विश्वकपमा भने पनि जनावरको भविष्यवाणीलाई निरन्तरता दिइएको छ । अफिसियल रुपमा यस विश्वकपको भविष्यवाणी रुसको एउटा बिरालोले गर्ने भएको छ । एकिलिज नाम गरेको निलो आँखा र सेतो रंगको कान नसुन्ने बिरालोले यसपटकको विश्वकपको भविष्यवाणी गर्ने भएको हो । उक्त बिरालो हाल पिटर्सबर्गको हर्मिटेज म्युजियममा राखिएको छ । बिरालोलाई यसअघिबाट नै विशेष प्रशिक्षण दिन थालिसकिएको म्युजियमले जनाएको छ ।

कसरी हुनेछ भविष्यवाणी ?
पल अक्टोपसले २०१० मा दुई देशका झन्डा राखिएका दुईमध्ये एक बक्सलाई छनोट गर्दै विश्वकपको भविष्यवाणी गरेको थियो । एकिलिजका अगाडि खेल हुने दुई देशका झन्डाहरु अंकित बलहरु बिरालोको खानासहित राखिने भएको छ । त्यसमध्ये उसले जुन छनोट गर्छ, त्यसलाई उसको भविष्यवाणी मानिनेछ । उनले गरेका भविष्यवाणीहरुको प्रत्यक्ष प्रशारण पनि गरिने भएको छ ।

एकिलिजलाई नै किन छनोट गरियो त ?

म्युजियममा उनको हेरचाहको जिम्मा पाएकी अन्ना कासातकिना भन्छिन्, ‘यसअघि एकिलिजले कन्फडेरेसन कपको पनि भविष्यवाणी गरेको थियो । जसमा उसले गरेका भविष्यवाणी शतप्रतिशत मेल खायो । ऊ कान नसुन्ने भएकाले पनि निष्पक्ष भविष्यवाणी गर्ने गर्छ । कान नसुन्ने भएकाले बाहिरबाट उसको ध्यानभंग पनि कसैले गर्न सक्दैन् र उसले आफो हृदयले सही भविष्यवाणी गर्नेछ ।’

 

(एजेन्सी)

Facebook Comments