भद्रपुर ९ खुला दिसामुक्त

भद्रपुर, जेठ ३० । भद्रपुर नगरपालिकाको वडा नम्बर ९ खुला दिसामुक्त भएको छ । आदिवासी समुदाय र मजदुरहरुको अधिक बसोबास रहेको सो वडा बुधबारदेखि खुला दिसामुक्त वडा घोषणा भएको हो ।
सो वडास्थित मुना सामुदायिक भवनमा आयोजित समारोहका बीच प्रमुख अतिथि भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले ‘खुला दिसामुक्त क्षेत्र’ लेखिएको ब्यानर पढेर ९ नम्बर वडालाई खुला दिसामुक्त भएको घोषणा गरे । उनले वडा अध्यक्ष एवम् वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष शनिलाल राजवंशीलाई खुला दिसामुक्त घोषणा गरिएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
भद्रपुर नगरपालिकाको खुला दिसामुक्त अभियानका संयोजक फणिन्द्र दाहालले सञ्चालन गरेको घोषणा समारोहमा प्रमुख अतिथि श्रेष्ठले भद्रपुरको अन्य वडालाई पनि चाँडै खुला दिसामुक्त गर्ने गरी अभियानलाई तीव्रता दिन वडाअध्यक्ष तथा अभियानकर्मीहरुलाई आग्रह गरे ।
वडा सदस्य राम दाहालले स्वागत गरेको समारोहमा अध्यक्ष राजवंशीले वडामा भएका खुला दिसामुक्त अभियान तथा सरसफाइका सन्दर्भमा गरिएका क्रियाकलापका विषयमा प्रकाश पारेका थिए । उनले वडाका सबै १८७३ घरधुरीमा सुरक्षित शौचालयको पहुँच पुगेको बताए । वडास्तरीय समितिले सबै घरधुरीमा शौचालयको पहुँच पुगेकोले अनुगमन गरिदिन अनुरोध गर्दै पत्र पठाएपछि जिल्लास्तरीय संयुक्त अनुगमन समितिले अन्तिम गुणस्तर अनुगमन गरी वडा नम्बर ९ लाई दिसामुक्त घोषणा गर्न अनुमति प्रदान गरेको थियो । वडालाई खुला दिसामुक्त क्षेत्र बनाउन सफल भएकोमा सरसफाइका क्रियाकलाप गर्न प्रेरित गर्दै नगरपालिकाले एक लाख रुपैयाँ पुरस्कार प्रदान गरेको छ भने टोल विकास संस्थाहरुलाई पनि पुरस्कृत गरेको छ ।
यसैगरी, अभियानमा संलग्न संस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको छ । समारोहमा उपप्रमुख चन्द्रा श्रेष्ठ, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधि खुला दिसामुक्त अभियानका सहजकर्ता रुद्रबहादुर न्यौपाने, जिल्ला जनस्वास्थ्य कार्यालयका शाखा अधिकृत देवराज कार्कीलगायते शुभकामना मन्तव्य राखेका थिए ।
योसँगै, भद्रपुर नगरपालिकाको ४ वटा वडा पूर्ण र एउटा वडाको केही भाग खुला दिसामुक्त भएका छन् । अभियानका संयोजक फणिन्द्र दाहालका अनुसार यसअघि भद्रपुरको वडा नम्बर १, २, १० का सबै क्षेत्र र वडा नम्बर ३ का केही भाग खुला दिसामुक्त घोषणा भइसकेका छन् । हालको भद्रपुर वडा नम्बर ३ मा महेशपुरको केही भाग समेटिएकोले साविक महेशपुरको क्षेत्र खुला दिसामुक्त हुन बाँकी छ ।

Facebook Comments