कार्टुन उद्योगमा भीषण आगलागी, नियन्त्रणमा लिन १२ वारुणयन्त्र

मोरङ ,जेठ ३१ । मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर–३, बाँसवारी नजिकै रहेको कार्टुन उत्पादन गर्ने उद्योगमा लागेको आगलागी १४ घण्टासम्ममा पनि नियन्त्रणमा आउन सकेको छैन।

गएराति करिब १० बजे अरिहन्त अटो कोरोगेशनको गोदाम बाहिरबाट आगो सल्किएको अनुमान गरेको जिल्ला प्रहरी कार्यालयका अनुसार अझै पनि आगो नियन्त्रणको कार्य जारी रहेको छ।

प्रहरी कार्यालयका अनुसार, उक्त गोदाममा लागेको आगो नियन्त्रणका लागि हाल झापा, सुनसरी, मोरङ र राजविराजबाट १२ वटा वारुणयन्त्र जुटेका छन्। ठूलो क्षेत्रफलमा अवस्थित गोदामभित्र जलेका कार्टुन, गत्ता लगायतका सामाग्री हाल डोजरले निकाल्दै नजिकैको खोलामा थन्काउदै आएको छ।

आगलागी पूर्णरुपमा नियन्त्रणमा आउनका लागि अझैपनि समय लाग्ने प्रहरीको भनाइ छ। आगलागी नियन्त्रणका लागि स्थानीयले पनि सहयोग गरेको बताएका मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले भने, आगलागीको विषयमा छानवीन जारी छ र अहिलेनै आगलागीको कारण खुल्न सकेको छैन।

आगलागीबाट करोडौंको क्षति भएको प्रहरीको अनुमान छ। आगो नियन्त्रणका लागि नेपाली सेनाको टोली, सशस्त्र प्रहरी बल, नगरप्रहरी र स्थानीय खटिएका छन्।

 

source : deshsanchar.com

Facebook Comments