प्रहरीको टाउकैमा क्यामरा !

बिर्तामोड, जेठ ३१ । प्रहरीले टाउकोमा क्यामरा राखेर हिँडेको देख्दा अचम्म लाग्नसक्छ । तर अब यो दृश्य झापाको बिर्तामोडका लागि कुनै नयाँ भने होइन ।

इलाका प्रहरी कार्यालय अनारमनीले क्विक रेस्पोन्स टिममा खटिएका प्रहरीको हेल्मेटमा क्यामरा जडान गर्न सुरु गरेको छ । अहिले एउटा मोटरसाइकलको हेल्मेटमा उक्त क्यामरा जडान गरिएको छ ।

प्रहरी गस्तीमा जाँदा वा कुनै समस्या समाधानका लागि जाँदा प्रहरीले दुर्व्यवहार गरेको भन्ने गुनासो आएका कारण प्रहरीकै टाउकोमा क्यामरा जडान गर्न सुरु गरिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायव उपरीक्षक कृष्ण कोइरालाका अनुसार त्यस्ता क्यामरा गस्तीका गाडीहरुमा जडान गरिनेछ । उनले भने, ‘अब हामी ठुलो मोबाइल गस्तीको गाडीमा जडान गर्दैछौँ ।’

मोटरसाइकल वा गाडीमा जडान गरेका क्यामराले ती सवारी साधन जहाँजहाँ पुग्छन् त्यहाँका भिडियो कैद गर्नेछ । भिडियो हेरेपछि कहाँ कस्को गल्ती छ भन्ने कुरा प्रस्ट हुने कोइरालाले बताए । उनले भने, ‘कोही बेला प्रहरीले दुर्व्यवहार र्गयो भन्ने आरोप आउँछ । कोही बेला घटनास्थलको दृश्य नहुँदा अनुसन्धानमा अप्ठ्यारो पर्न जाने हुँदा त्यस्तो क्यामराको प्रयोग गर्न थालिएको हो ।’

उनले अहिले बिर्तामोड क्षेत्रमा २३ वटा सिसिटिभी क्यामराले काम गरिरहेको बताए । अब छिट्टै उक्त क्यामराको संख्या ६० वटा र्पुयाउने उनको भनाइ छ ।

 

(देश सञ्चारबाट)

Facebook Comments