आजदेखि विश्वकप फुटबल सुरु

झापा, जेठ ३१ । रसियामा आजदेखि विश्वकप फुटबल सुरु हुँदैछ । नेपाली समयअनुसार बिहीबार राति ८:४५ बजे आयोजक रसिया र साउदी अरेबियाबीच उद्घाटन खेल हुनेछ ।

रसियामा हुन गइरहेको फिफा विश्वकप फुटबलको समग्र बजेट ७९ करोड १० लाख डलर रहेको छ । फिफाले निश्चित गरेअनुसार यो वर्षको विश्वकप खेल्ने टोलीका लागि कूल पुरस्कार रकम ४० करोड अमेरिकी डलर तोकिएको छ । विश्वकप अन्तर्राष्ट्रिय इभेन्टहरुमध्ये सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगितामा समेत हो ।

फिफाकाअनुसार समूह चरण खेलेर बाहिरिने १६ टोलीले ८० लाख डलरका दरले पुरस्कार पाउनेछन् । समूह चरणबाट १६ टोलीले प्रतिटोली ८० लाख डलर लिएर बाहिरिनेछन् भने १६ वटा अन्तिम १६ मा पुग्नेछन् ।

अन्तिम १६ बाट ८ वटा टोली क्वाटरफाइनलमा पुग्नेछन्, ८ वटा बाहिरिनेछन् । यो तहबाट बाहिरिने ८ टोलीले प्रतिटोली १ करोड २० लाख डलरका दरले पुरस्कार पाउनेछन् । क्वाटर फाइनलबाट ४ टोली सेमिफाइनलमा पुग्नेछन्, ४ बाहिरिनेछन् । यो तहबाट बाहिरने टोलीले प्रतिटोली १ करोड ६० लाख डलर पुरस्कार पाउनेछन् । सेमिफाइनल खेल्ने चार टोलीमध्येबाट यो विश्वकपको चौथो, तेस्रो, दोस्रो र च्याम्पियन टोली घोषणा हुनेछ ।

चौथो हुने टोलीले २ करोड २० लाख अमेरिकी डलर पाउनेछ । तेस्रो हुनेले २ करोड ४० लाख डलर दिइनेछ । दोस्रो हुनेले २ करोड ८० लाख हात पार्नेछ भने च्याम्पियन टोलीले ३ करोड ८० लाख अमेरिकी डलर पाउनेछ । सँगै विजेताले १८ क्यारेट सुनको ट्रफी पाउनेछन् ।

सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबल जर्मनरीले जित्दै ३ करोड ५० लाख डलर हात पारेको थियो । यो पटक समूह चरणबाहेक अन्य तहको पुरस्कार राशि बढेको छ । विश्वकप विजेता टोलीका लागि ३० लाख अमेरिकी डलर बढाएर ३ करोड ८० लाख डलर र्पुयाइएको छ । दोस्रो हुनेको पुरस्कार रकम पनि ३० लाख डलर नै बढाइएको छ । फिफाको आधिकारिक वेबसाइटका अनुसार पुरस्कार रकम विश्वकप प्रतियोगिता समापनपछि सम्बन्धित टोलीलाई प्रदान गरिनेछ ।

यस्ता छन् विश्वकपका नयाँ खेल नियम

बिहीबार बेलुकादेखि सुरु हुने २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा केही नयाँ निमय लागु हुँदैछ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले पहिलोपटक भिडियो एसिसटेन्ट रेफ (भिएआर) प्रविधिको प्रयोग गर्दै छ । यसका लागि फिफाले छुट्टै नियम बनाएको छ ।

खेलका दौरान भिएआरले सबै गोल, पेनाल्टी तथा रातो कार्ड दिएको अवस्था लगायतमा पनि लगातार निगरानी गरिरहेको हुन्छ । सो अवस्थामा कुनै गल्ती भएको पत्ता लाग्नेबित्तिकै रेफले ‘रिभ्यु’ नमागे पनि उसले रेफलाई सूचना दिन्छ । त्यहीअनुसार रेफले गोल, पेनाल्टी दिने, कार्ड दिने र आफे गरेका गल्ती सच्याउन सक्छन् । रिभ्यु मागेको खण्डमा पनि रेफले उल्लेखित निर्णय गर्नेछन् ।

रेफलाई कुनै शंका लागेमा रिभ्यु लिन सक्छन् । यदि रेफले रिभ्यु लिन चाहे तर खेल चलिरहेको छ भने दुवै टोलीको एकअर्कामा गोल गर्न सक्ने अवस्थाबाहेक खेललाई रोकिदिनुपर्छ । रिभ्यु लिएपश्चात् खेल मैदान नजिकै राखिएको मोनिटरमा भिडियो रिप्ले देखाइन्छ र सोको आधारमै रेफले आफो निर्णय सुनाउँछन् ।

यसैबीच, खेलाडीले अनावश्यक रुपमा भिएआरको अपिल गर्न भने पाउनेछैनन् । अनावश्यक रुपमा अपिल गरेमा रेफले खेलाडीलाई कार्ड दिन सक्नेछन् । रोकिएको खेल सुरु भएपछि रेफको निर्णय नै अन्तिम हुनेछ । यसपटक विश्वकपमा रेड कार्ड पाउने अवस्थामा पनि परिवर्तन भएको छ । यसअघि हिंस्रक व्यवहार देखाएमा, जानाजान गल्ती गरेमा र थुकेमा रेड कार्ड दिइने नियम थियो । अब भने टोकेमा पनि रेड कार्ड देखाउने नियम फिफाले बनाएको छ । टोकेमा रेड कार्ड देखाउने नियम विश्वकपमा पहिलोपटक लागु हुन लागेको हो ।

यसअघि सन् २०१४ को विश्वकपमा उरुग्वेका लुइस सुआरेजले इटालीका डिफेन्डर जर्जिरो चिलेनीलाई डि-बक्सभित्रै टोकेका थिए । चिलेनीले आफो बायाँ काँधमा सुआरेजले टोकेको डाम देखाए पनि रेफले उक्त घटनामा कुनै कारबाही गरेनन् । पछि फिफाले अनुसन्धान गर्दै सुआरेजलाई चार महिना कुनै पनि प्रतिबन्ध लगायो । यसपटक भने टोक्ने खेलाडीलाई मैदानमा रेड कार्ड दिने निमय लागु हुनेछ । फिफाले प्रशिक्षकका लागि पनि नयाँ निमय बनाएको छ । नयाँ निमयअनुसार प्रशिक्षकले ’साइड लाइन’ मा गएर कुनै विद्युतीय सामग्रीको प्रयोग गर्न पाउनेछन् ।

Facebook Comments