आजबाट ‘रेस ३’

बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘रेस ३’ आजबाट संसारभर एकसाथ प्रदर्शनमा आउँदैछ । यसको दुई सिरिज सुपरहिट भएका कारण पनि यो फिल्मतर्फ दर्शकको चासो बढी छ । सलमानको प्रवेशले पनि थप फिल्मप्रति दर्शकमा कौतुहलता बढाएको हो ।

एक्सन प्याक्ड ट्रेलरदेखि स्तरीय गीतसंगीतका कारण प्रतिक्षीत बनेको यो फिल्मको बुधवार साँझबाट नेपालका मल्टिप्लेक्समा एडभान्स बुकिङ खुला गरिएको छ । फिल्मप्रति दर्शकको उत्साहपूर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुकिङ ओपन गरिएको हो । बुकिङ खुलेसँगै दर्शकहरुले टिकट रिजर्भ गर्न थालिसकेका छन् । राजधानीभित्र र बाहिरका अधिकांश मल्टिप्लेक्समा फिल्मको टिकट तीव्र गतिमा बुकिङ भइरहेको छ । यस्तै रहे रिलिजअगावै मल्टिप्लेक्समा फिल्मले पाएको प्राय: शोज सोल्ड आउट हुने देखिन्छ ।

सलमानको ‘रेस ३’ लाई नेपालको सबैभन्दा ठुलो चेन भएको क्युएफएक्सले २८ शोज उपलब्ध गराएको छ । यो संख्यामा क्युएफएक्सले आजसम्म न नेपाली न त बलिउड फिल्मलाई नै शोज बाढेको थियो । सुरुवातमा १७ शोज दिए पनि तीव्र गतिमा भइरहेको बुकिङका कारण क्युएफएक्सले शोज बढाउन बाध्य भएको हो । गोपीकृष्ण मुभिजले यो फिल्मको नेपाल प्रदर्शन अधिकार किनेको हो ।

यसअघि पनि सलमानका अधिकांश फिल्मको नेपाल वितरण अधिकार गोपीकृष्णले नै प्राप्त गर्दै आएको थियो । ‘रेस ३’ मल्टिप्लेक्ससँगै नेपालका अधिकांश सिंगल हलमा पनि रिलिज हुँदैछ । फिल्मले सयभन्दा बढी सिंगल ‘स्क्रिन’ पाएको छ । रेमो डिसुजा निर्देशित यो फिल्ममा सलमानसँगै ज्याकलिन फर्नान्डिज, बबी देओल, अनिल कपुर, डेजी शाहलगायतको लिड रोल छ । रमेश तौरानी यस फिल्मका निर्माता हुन् ।

Facebook Comments