“दुई वर्षमा घरघरमा बिजुली, प्रत्येक टोलमा बाटो”

झापाको गौरीगञ्ज पश्चिम दक्षिणी झापाको सीमावर्ती गाउँपालिका हो । झापाका आठवटा नगर र सातवटा गाउँपालिकामध्येको जिल्लाकै पुरानामध्येको बजार गौरीगञ्जको पहिचानसँग पनि जोडिएको छ । २०७३ सालमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागु गर्दा झापा जिल्लामा साविकको खजुरगाछी, महाभारा, कोरोबारी र गौरीगञ्ज गाउँ विकास समितिलाई मिलाएर गौरीगञ्ज गाउँपालिका बनाइएको हो । गत वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकामा राप्रपाबाट उम्मेदवार बनेका बाबुराजा श्रेष्ठ अध्यक्षमा निर्वाचित भए । स्थानीय सरकार कार्यान्वयनमा आएसँगै गौरीगञ्ज गाउँपालिकामा केके भयो र आगामी योजना के छन् भन्नेबारे अध्यक्ष बाबुराजा श्रेष्ठसँग गोपाल झापालीले गरेको कुराकानी :

अध्यक्ष भएपछि केके गर्नुभयो गाउँपालिकाका लागि ?

जुन बेला हामी गाउँपालिकाको जिम्मेवारीमा आउँदै थियौँ, त्यस बेला सबैतिर बाढी, डुबान र कटानको समस्या थियो । केही समय त हामी सोही तत्कालीन समस्या समाधानमा केन्द्रित भयौँ । त्यसपछि केही ढिलो गरी हामीले गाउँसभा सम्पन्न र्गयौँ । बजेट तर्जुमा र्गयौँ । अझै पनि कानुन अभावको अवस्था अन्त्य भएको छैन । सुरुमा त कानुनी आधारबिना नै काम थाल्दा निकै अन्योल पनि थियो । अन्योलकै बीचमा हामी काम गर्दै आएका छौँ ।

गौरीगञ्ज गाउँपालिकामा रहेका मुख्य समस्याचाहिँ केके देख्नुभएको छ ?

यहाँ समस्या धेरै छन् । अझै पनि सबैतिर विद्युत पुग्न सकेको छैन, बाटो पुगेको छैन । खानेपानी वितरण गर्न धेरै बाँकी छ । सीमावर्ती क्षेत्र र विपन्न समुदायको बसोबास रहेका कारण यहाँको चेतनास्तर पनि धेरै उकास्न आवश्यक छ । यो जिल्लाकै पुरानो बजार हो तर यसले अझै बजार तथा सहरको रूप लिन सकेको छैन । तराईको ‘लाइफलाइन’ को रूपमा रहेको हुलाकी मार्गको निर्माणले गति लिन नसक्दा यहाँका बासिन्दा पनि निराश छन् । यी समस्यै समस्याका बीचमा हामी काम गर्छौं भनेर नै आएका हौँ ।

गौरीगञ्जका केही आशा र सम्भावना पनि त होलान् नि ?

गौरीगञ्जमा समस्या मात्रै होइन, धेरै आशा र सम्भावना पनि छन् । हुलाकी राजमार्ग र राजमार्गमा पुल बनाउने कुरा राष्ट्रिय योजनाको कुरा हो । यसलाई तीव्रता दिन सके गौरीगञ्जको पहुँच भद्रपुरदेखि विराटनगरसम्म सहज हुनेछ । यस्तै, यहाँको छोटी भन्सारलाई स्तरीकरण जरुरी छ । यसले गर्दा यो बिहारसँग नेपाल-भारतको व्यापारका लागि प्रमुख नाका बन्न सक्छ । अर्को कुरा, सरकारले हुलाकी राजमार्गसँग जोडिएका सहरहरूलाई नमुना सहरको रूपमा विकास गर्ने योजना अघि बढाएको छ । यसमा गौरीगञ्ज पनि छनोट भएको छ । यसका लागि प्रारम्भिक चरणको काम पनि सुरु भएको छ । त्यसैले गौरीगञ्ज समस्याका बीचमा पनि सम्भावना नै सम्भावना भएको गाउँपालिका हो ।

आफो कार्यकालमा कस्तो बनाउने लक्ष्य छ यो गाउँपालिकालाई ?

म विगतदेखि नै जनताको माझमा रहेर काम गर्दै आएको मान्छे हुँ । त्यसैले यहाँका अधिकांश समस्या र अवस्थाका बारेमा म जानकार छु । महाभारा गाविससँग मेरो त्यस्तो विधि सम्पर्क थिएन तर अहिले गाउँपालिकामा समायोजन भएपछि अवसर पाएको छु । त्यसैले धेरै ठुलो कुरा गर्नु पनि हुँदैन । भोलि देखिने कुरा हो ।

कम्तिमा अबको दुई वर्षमा गौरीगञ्जका सबै टोलमा ग्राभेल बाटो र्पुयाउने लक्ष्य छ । कोही पनि बिरामी हुँदा वा आपत पर्दा एम्बुलेन्सलगायतका अत्यावश्यकीय सवारी साधन पुग्न सकून् । केही टोलमा विद्युत सेवा पुग्न बाँकी छ । अबको दुई वर्षमा गाउँपालिकाको सबै क्षेत्रमा विद्युत् सेवा र्पुयाउने गाउँपालिकाको लक्ष्य छ । नमुना सहरको योजना र हुलाकी राजमार्ग निर्माणको क्रम पनि यस अवधिमा पूरा भए गौरीगञ्ज झापाको एउटा साँच्चिकै व्यावसायिक र नमुना गाउँपालिका बन्नेछ ।

तपाईं त प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा रहेको गाउँपालिकाको अध्यक्ष पनि हुनुहुन्छ, केन्द्रीय सरकारबाट के अपेक्षा गर्नुभएको छ ?

हो, यो हामी सबैको गर्वको विषय हो कि हामी प्रधानमन्त्रीको क्षेत्रका बासिन्दा हौँ । निश्चय पनि हामीले उहाँबाट सहयोगको अपेक्षा गरेका छौँ । खाली भौतिक पूर्वाधार मात्रै विकास होइन, यहाँको सामाजिक, सांस्कृतिक, शैक्षिक, चेतनास्तर पनि उक्सन आवश्यक छ । यस प्रकारका कार्यक्रममा हामीले प्रदेश र केन्द्रीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेका छौँ । केही खासखास योजनालाई गाउँपालिकाका गौरवका योजनाको रूपमा स्थापित गर्ने लक्ष्य छ । महाभारामा खेलमैदान, कोरोबारीमा सिमसार, गौरीगञ्जमा अतिथि सदन र खजुरगाछीमा बालउद्यान निर्माणलाई गौरवका योजनाका रूपमा विकास गर्ने लक्ष्य छ । यसमा स्थानीयबासीका साथै जिल्ला समन्वय समिति, प्रदेश सरकार तथा संघीय सरकारबाट पनि सहयोगको अपेक्षा गरेका छौँ ।

तपाईं गाउँपालिकामा दलीय रूपमा हेर्ने हो भने अल्पमतमा हुनुहुन्छ । राप्रपाबाट निर्वाचित हुने तपाईं मात्रै हो । प्रदेशसभा, प्रदेश सरकार र प्रतिनिधिसभा, संघीय सरकारमा पनि तपाईंको पार्टीको प्रभावशाली उपस्थिति छैन, कस्तो सहयोग पाइरहनुभएको छ अन्य दलबाट ?

हामी विगतमा चुनावी मैदानमा, प्रतिस्पर्धाका बेला राजनीतिक दलको ढोकाबाट आएका हौँ तर निर्वाचित भइसकेपछि हामी पार्टीका होइन, सबैका साझा हौँ । यही भावनाबाट सबै साथीले काम गरेको पाएको छु । मलाई सबैले सहयोग गर्नुभएको छ । त्यसैले मैले म एक्लो छु भन्ने महसुस गर्नुपरेको छैन र पर्छ भन्ने पनि लाग्दैन ।

आर्थिक वर्ष सुरु हुन लाग्यो, बजेटको तयारी होला, कस्ता योजनालाई प्राथमिकता दिँदै हुनुहुन्छ ?
गौरीगञ्जमा अझै पूर्वाधार विकासकै क्षेत्रमा धेरै काम गर्न बाँकी छ । खोला बाढी बढ्दा आउजाउ नै बन्द हुने गाउँ पनि छन् । विद्युतीकरणका लागि पनि काम गर्नु छ । बाटोहरूको स्तरीकरण पनि आवश्यक छ । तर यति हुँदाहुँदै पनि यहाँका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, महिला तथा युवामा आयआर्जन वृद्धि, आदिवासी जनजाति बाहुल्य क्षेत्र भएकाले ती समुदायको भाषा, कला, संस्कृतिको संरक्षण, खेलमैदानको विकास गरी युवालाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने प्रकारका योजना पनि छन् हामीसँग । यीबाहेक पनि स्थानीय आवश्यकताका आधारमा हामी अरू योजनालाई पनि आगामी बजेटमा समेट्नेछौँ ।

बजेट त नियमित प्रक्रिया हो तर गौरीगञ्जलाई चिनाउने गरी कस्ता योजनाहरू ल्याउनुहुन्छ ?

केही खास योजनामा काम गर्दै छौँ हामी । यसका लागि साविकको महाभारा गाविस, हालको वडा १ मा दुई बिघाजतिमा खेलमैदान विकास गर्दैछौँ । यस्तै, साविकको कोरोबारी गाविसमा सिमसारको संरक्षण र प्रवर्द्धधनको योजना छ । यसैगरी साविकको गौरीगञ्जमा अतिथि सदन र साविकको खजुरगाछीमा बालउद्यान निर्माण हाम्रो प्रारम्भिक योजनामा छन् । यी चारवटा योजनाले साविकका एक गाविस, एक बृहत योजना र्पुयाउनेछ । यी योजनाहरू गौरीगञ्जको नयाँ परिचय स्थापनाका लागि महत्त्वपूर्ण हुन्छन् भन्ने लागेको छ ।

Facebook Comments