भद्रपुरमा भेटिए १२ नयाँ कुष्ठरोगी

भद्रपुर, असार ५ । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिका क्षेत्रभित्र कुष्ठरोग प्रभावित १२ जना नयाँ बिरामी फेला परेका छन् ।
नेपालमा सन् २०१० मै निवारणको चरणमा पुगिसकेको कुष्ठरोगको जोखिममै रहेको झापामा सञ्चालन गरिएको कुष्ठरोग खोजी अभियानका क्रममा भद्रपुरमा त्यतिको संख्यामा नयाँ रोगी पत्ता लागेको हो । भद्रपुरको वडा नम्बर ३, ४, ५ र ७ मा मात्र त्यति संख्यामा नयाँ रोगी पत्ता लागेको भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका कार्यक्रम संयोजक पुष्कर निरौलाले जानकारी दिए ।
उनका अनुसार वडा नम्बर ३ मा तीनजना, ४ मा एकजना, ५ मा चारजना र ७ मा चारजनामा कुष्ठरोग भेटिएको छ । अरु वडामा खोजपड्ताल जारी रहेकोले संख्या बढ्नसक्ने निरौलाको भनाइ छ । कुष्ठरोग निवारण अभियानअन्तर्गत भद्रपुरमा यही जेठ २५ देखि ३१ गतेसम्म साताव्यापी कुष्ठरोग खोजी कार्य सञ्चालन गरिएको थियो ।
रोग पत्ता लागेका नयाँ बिरामीलाई कुष्ठरोगको चिकित्सकीय प्रक्रियाअनुसार निःशुल्क औषधोपचार र हेरचाह सुरु गरिसकिएको निरौलाले जानकारी दिए । खोज्ने क्रममा कुष्ठरोगको सुरुआती अवस्थादेखि रोगका कारण अङ्गभङ्ग भइसकेको अवस्थासम्मका बिरामी फेला परेका छन् । आफूलाई कुष्ठरोग लागेको थाहा हुँदाहुँदै पनि कसैले थाहा पाए सामाजिक बहिष्करणमा परिने भयका कारण रोग लुकाउँदा अङ्गभङ्गको अवस्थामा पुगेका बिरामी पनि आफूहरुले भेटेको निरौलाको भनाइ छ । अघिल्लो वर्ष भद्रपुरमा ११ जना रोगी पत्ता लागेका थिए ।
झापा कुष्ठरोगको जोखिममै रहेको जिल्ला भएका कारण जिल्लाका प्रभावित स्थानीय तहहरुमा कुष्ठरोग रोकथाम परियोजना पनि सञ्चालनमा रहेको छ । भद्रपुरलगायत मेचीनगर, अर्जुनधारा, बिर्तामोड, शिवसताक्षी र दमक नगरपालिकामा कुष्ठरोग निवारण सम्बन्धी कार्यक्रम सञ्चालनमा छन् । परियोजनाअन्तर्गत कुष्ठरोगका पुराना तथा नयाँ रोगीको हेरचाहसम्बन्धी क्रियाकलाप सञ्चालन गरिँदै आएको छ । हाल भद्रपुरमा ७० भन्दा बढी कुष्ठरोग प्रभावित व्यक्ति रहेका छन् ।
खोजी अभियान तथा जनचेतनामूलक कार्यक्रम सञ्चालनकै क्रममा भद्रपुर नगरपालिका नगर कार्यपालिकाको आयोजनामा भद्रपुर ३, सूर्यनगरको हात्तीमारामा छालासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएकोमा त्यहाँ कुष्ठरोगका चारजना नयाँ बिरामी पत्ता लागेको निरौलाले बताएका छन् । छाला रोग विशेषज्ञ तथा बिर्तामोडस्थित लावन्य स्किन केयर सेन्टरकी सञ्चालक डर्माटोलोजिस्ट डा. सन्ध्या राठीको नेतृत्वमा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले बिरामीहरुको चेकजाँच गर्नुका साथै बिरामीहरुलाई औषधि वितरण गरिएको थियो । शिक्षा, स्वास्थ्यलगायतको आधारभूत आवश्यकताको पहुँचबाहिर रहेका आदिवासी तथा पछाडि पारिएको समुदायको बसोबास रहेको सो बस्तीमा १७५ जनाको छाल चेकजाँच गरिएको थियो ।
त्यहाँ अन्धविश्वासका कारण रोग लुकाएर नबस्न सुझाव दिँदै कुष्ठरोग र उपचारका उपायसम्बन्धी जनचेतना पनि प्रवाह गरिएको वडाध्यक्ष कमला थुलुङले बताइन् ।
कुष्ठरोग श्वासप्रश्वासका माध्यमबाट सर्ने एक प्रकारको सरुवा रोग भएकोले कसैले पनि आफूलाई कुष्ठरोग भएको शंका लागे तत्काल जाँच गर्न पनि स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । यो रोग आँखाले देख्न नसकिने सूक्ष्म किटाणु काइक्रो ब्याक्टेरियम लेप्रेबाट सर्दछ । शरीरमा लाटो–फुस्रो दाग आउनु, दागवरिपरि पसिना नआउनु, आँखा झिम्क्याउन नसक्ने अवस्था, हात–खुट्टा झम्झमाउनु, हात–खुट्टाका औँला कमजोर हुनु, बाङ्गिनु, कानको लोती मोटो हुनु, अनुहारको छाला रातो र चम्किलो हुनु, शरीरमा गिर्खाहरु देखिनु कुष्ठरोगका लक्षण भएको चिकित्सकहरुको भनाइ छ ।
कालाजार पनि भेटियो
निवारण भइसकेको भनिएको कालाजारका बिरामी पनि भद्रपुरमा भेटिएका छन् । चन्द्रगढी स्वास्थ्य चौकीको नेतृत्वमा सञ्चालन गरिएको कालाजार खोजपड्तालका क्रममा कालाजारका एकजना बिरामी भेटिएका हुन् ।
स्वास्थ्य चौकी इञ्चार्ज लालबहादुर पन्तका अनुसार खोजपड्तालका क्रममा भद्रपुर–१० को कोचाटोल भन्ने ठाउँमा एकजना कालाजारका बिरामी भेटिएको र मेची अञ्चल अस्पतालमा उनको उपचार गरिएको पन्तले जानकारी दिए ।
भुसुनाको टोकाइबाट सर्ने कालाजारबाट बँच्न लामो बाहुला भएको लुगा लगाउन, सुत्दा सधैँ झुल टाँगेर सुत्न स्वास्थ्यकर्मीको सुझाव छ ।

Facebook Comments