कुखुरा फार्मको दुर्गन्धले गाउँलेलाई सास्ती

विनोद सापकोटा

झापा, असार ६ । लियरर्स कुखुरा फारमबाट निस्किएको फोहोरको व्यवस्थापन नगर्दा शिवसताक्षी नगरपालिका ७ नम्बर वडाको एउटा सिङ्गै बस्तीका बासिन्दा दुर्गन्धको शिकार भएका छन् । दुर्गन्धबाट सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएको स्थानीयबासीले गुनासो गरेका छन् ।

०६८ सालमा स्थापना भएको गार्डेन कुखुरा फारमको दुर्गन्ध गाउँमा फैलिएको छ । वर्षातका समयमा दिउँसो लाग्ने घाम र हावाले दुर्गन्ध फैलाएको स्थानीयबासीले बताए । ‘वषौर्ंदेखि हामी पीडित छाँै’, स्थानीय खडिबहादुर श्रेष्ठले भने, ‘ताफ बढेको बेला त गाउँमै बस्न सकिँदैन ।’ दुर्गन्धको प्रत्यक्ष असर स्थानीय नौ घरलाई परेको छ । बिहानबेलुकाको खाना र दिउँसोको नास्ता पनि खान नसकिने गरी दुर्गन्ध आउने स्थानीयले गुनासो गरे । फार्ममा करिब ९ हजार कुखुरा छन् ।

‘सुरुमा हामीले वातावरणलाई प्रतिकूल नहुनेगरीको सहमति दिएका थियौँ’, श्रेष्ठले भने, ‘यतिबेला महिनैपिच्छे कुखुराको संख्या र फोहोर बढिरहेको छ । फार्म सञ्चालकले पनि बर्सेनि कुखुरा फार्मको लागि संरचना निर्माण गरिरहेका छन् ।’ स्थानीयका अनुसार फार्मको दुर्गन्ध घटाउनेभन्दा पनि कुखुराको संख्या बढाउनेतर्फ सञ्चालक उद्दत छन् । फार्म सञ्चालकलाई दुर्गन्धको बारेमा पटकपटक जानकारी गराए पनि अटेरी गरेको स्थानीयको गुनासो छ ।

करिब अढाई करोडको लागतमा स्थापना भएको उक्त फार्ममा सञ्चालक कुखुरा फार्मबाट दुर्गन्ध फैलिएको स्वीकार गर्छन् । ‘तर, फार्म स्थापना गर्दा स्थानीयले यतिबेला जसरी गुनासो गर्दै हुनुहुन्छ, त्यसको विपरीत त्यतिबेला सहमति पनि दिनुभएको थियो’, फार्म सञ्चालक पदम कार्की भन्छन्, ‘हामी सुधारको प्रयासमा छाँै । मानव स्वास्थयलाई नै असर पर्नेगरी व्यवसाय गर्दैनौँ ।’

गार्डेन कुखुरा फार्म विदेशी शैलीमा सञ्चालन भएको हो । केज सिस्टमको उक्त फार्ममा कुखुरापालन व्यवसाय गर्दा फोहोर व्यवस्थापन गर्न सजिलो हुने अनुभव सञ्चालकको छ । तर, सञ्चालकले सोचेजस्तो स्थानीय हावापानी नभएकाले उक्त केज सिस्टमको फार्म असफल भएको उनीहरुको ठम्याइ छ । केज सिस्टममा पालिएका कुखुरालाई पानीको आवश्यक कम हुने भएकाले सुख्खा सुली व्यवस्थापन गर्न सजिलो हुने भन्दै उनीहरुले केज सिस्टमकै फार्ममा कुखुरा पालेका थिए ।

चिसो मौसम अर्थात पहाडी र हिमाली भेगमा पाइने यस्तो फार्ममा कुखुरापालन गर्दा दुर्गन्ध नआउने उनीहरुले बताए । तर, यहाँ पालिएका कुखुरालाई पानीको मात्रा अधिक चाहिएको र सुली पातलो भएकैले बढी दुर्गन्ध आएको बताए । शिवसताक्षी नगरको न्यायिक समितिमा पनि स्थानीयले फार्मबाट आउने दुर्गन्धले बस्तीमा गम्भीर असर र्पुयाएको गुनासो गरेका थिए । समितिको छलफलमा ६ देखि १८ महिनासम्मको अवधिमा विद्यमान फार्म सञ्चालनको विधि परिवर्तन गर्ने सहमति भएको नगरकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक भोजकुमारी नेपालले बताइन् । ‘हामीले पटकपटक अनुगमन गरेका छौँ’, उनले भनिन्, ‘अब फार्ममा नयाँ चल्ला नहाल्ने, फोहोर व्यवस्थापन गर्ने र दुर्गन्ध हटाउन दिनहुँ स्पे्र गर्ने सहमति भएको छ ।’

तर, वडा अध्यक्ष नविन इजमले गाउँलेलाई सास्ती हुनेगरी कसैले पनि व्यवसाय सञ्चालन गर्न नहुने बताए । उनले भने, ‘समाजलाई असर पर्ने र मानव स्वास्थ्यमा गम्भीर असर र्पुयाउने प्रकृतिका यस्ता फार्म सञ्चालनका लागि नगरले छिटै ऐन बनाएर कानुनी दायरामा ल्याउनु पर्छ ।’

Facebook Comments