मणि थुक्पा उद्योग प्रदेशकै उत्कृष्ट

झापाको अर्जुनधारा-१० मा १५ वर्षअघि स्थापना भई स्वास्थ्यमा असर र्पुयाउने रङ र केमिकलरहित खाद्य सामग्री उत्पादन गर्दै आएको मणि थुक्पा उद्योग प्रदेश नम्बर १ कै उत्कृष्ट घरेलु तथा साना उद्योगको रुपमा पुरस्कृत भएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले दशौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसको अवसर पारेर प्रदेश नम्बर १ मा रहेका उद्योगमध्ये मणि थुक्पा उद्योगलाई उत्कृष्ट उद्योगको रुपमा पुरस्कृत गरेको हो । डम्बरकुमारी श्रेष्ठद्वारा सञ्चालित उद्योगले पछिल्लो दुई वर्षयता १५ प्रकारका खाद्य सामग्री उत्पादन गर्दै आएको छ ।

स्वास्थ्यमा हानि र्पुयाउने रङ र केमिकलरहित पोषणयुक्त खाद्य वस्तु उत्पादन गरी स्वच्छ र गुणस्तरीय खाद्यपदार्थ उत्पादन गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सो उद्योगलाई उत्कृष्ट घोषित गरेको हो । ‘खाद्य पदार्थमा प्रयोग गरिने रङ र केमिकलले दीर्घ रोग निम्त्याउने खतरा बढी हुन्छ’, उद्योगका रुद्रमणि श्रेष्ठ भन्छन्, ‘हामी त्यो खतरा न्यूनीकरण गर्न चाहन्छौँ ।’

खाद्य नियमावली २०२७ को अनुसूची १० को दफा २२ मा प्रति किलोमा रङ २०० मिलिग्राम नबढाई हाल्ने प्रावधान भए पनि पकाएको खानेकुरामा रङ हाल्न नपाइने उल्लेख छ । तर, पछिल्लो समय अधिकांश तयारी खानामा रङको प्रयोग गरिएको पाइन्छ । यसले मानवीय स्वास्थ्यमा प्रतिकूल असर र्पुयाइरहेको चिकित्सकको भनाइ छ । जसका कारण आन्द्रा, कलेजो, मिर्गौलामा क्यान्सर, महिलालाई पाठेघरमा क्यान्सर, बच्चाहरुमा मानसिक सन्तुलन बिग्रने समस्या आउने चिकित्सक बताउँछन् ।

मणि थुक्पा उद्योगले अहिले दश जनालाई रोजगारी प्रदान गरेको छ । उद्योगले मेचीका सबै जिल्ला र मोरङ तथा सुनसरीमा समेत उत्पादन र्पुयाउने गरेको छ ।

पछिल्लो समय तयारी नुडल्सको माग पूर्वमा बढे पनि आफूहरुले १० प्रतिशत माग मात्र धान्न सकेको श्रेष्ठले बताए । उत्पादनका हिसाबले कम सामग्री उत्पादन भए पनि गुणस्तरमा कुनै कञ्जुस्याइँ नगरेको उनी बताउँछन् ।

हाल उद्योगले नेपालमै पहिलो पटक सोलार प्रविधिबाट थुक्पा सुकाउने मेसिन भितर््याउन लागेको पनि उनले बताए । ‘हामीले उत्पादन गरेको सम्पूर्ण सामग्री ‘जङफुड’ अन्तर्गत पर्दैन’, श्रेष्ठले भने, ‘हामी फापर, आँटा र भेजिटेवल सामग्री बजारमा लिएर आएका छौँ, निकट भविष्यमा नै ननभेजिटेवल सामग्री पनि बजारमा ल्याउँछौँ, जसका लागि ल्याब टेष्टमा पठाएका छौँ ।’
श्रेष्ठको उद्योगमा उत्पादित सवै सामग्री अजिना, रङ र केमिकलरहित हुने गरेको बताइन्छ ।

Facebook Comments