कुष्ठरोगबारे सजग बनौँ

झापामा नयाँ कुष्ठरोगीको खोजी कार्य सुरु गरिएकोमा नयाँ बिरामी फेला पर्न थालेका छन् । भद्रपुर क्षेत्रमा मात्र १२ जना नयाँ कुष्ठरोगी फेला पर्नुले सन् २०१० मै निवारण भइसकेको भनिएको यो रोगको जोखिम अझै पनि छ भन्ने सावित गर्छ । नेपालले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रतिदस हजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी भए कुष्ठरोग निवारण भएको मानिन्छ । यही अनुसार नेपालले आठ वर्षअघि नै कुष्ठरोग निवारण भएको घोषणा गरेको हो । जिल्लागत आधारमा हेर्दा झापामा फेला परेका नयाँ रोगीको संख्या प्रतिदस हजार जनसंख्यामा १ जनाकै हाराहारीमा हुन्छ । उपचारमा रहेका पुराना रोगी पनि छन् । तर, यो संख्या थपिने सम्भावना रहेकाले कुष्ठरोग निवारण नै भइहालेको भन्ने आधार पाइँदैन ।

झापामा भद्रपुर, मेचीनगर, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र दमक नगरपालिकामा कुष्ठरोगीको खोजपड्ताल भइरहेको छ । यी नगरपालिकामा कुष्ठरोग निवारण सम्बन्धी कार्यक्रम सञ्चालनमा छन् । परियोजनाअन्तर्गत कुष्ठरोगका पुराना तथा नयाँ रोगीको हेरचाह सम्बन्धी क्रियाकलाप सञ्चालन गरिँदै आएको छ । स्वास्थ्य मन्त्रालयले कुष्ठरोग निवारण घोषणापछि पनि कार्यक्रमहरु सञ्चालन गरेको छ । कुष्ठरोगका कारण उत्पन्न अन्य रोगको समस्या घटाउन सन् २०११ देखि २०१५ सम्मको कार्यक्रम थियो । यसपछि कुष्ठरोगका कारण हुने अशक्तता प्रतिदस लाख जनसंख्यामा १ जनाभन्दा कममा झार्ने कार्यक्रम चालु छ । कुष्ठरोग प्रभावितलाई उच्चस्तरको स्वास्थ्य सेवा दिने कार्यक्रम पनि चालु छ । कुष्ठरोग निवारण भएको घोषणा र त्यसपछिका प्रभावहरु कम गर्ने कार्यक्रमहरु चालु रहे पनि नयाँ रोगीहरु फेला पर्ने क्रम रोकिएको छैन ।

नया“ रोगीको संख्या प्रतिदस हजार एकको हाराहारी वा त्योभन्दा बढी देखि“दा रोगीको संख्या बढ्दै जाने जोखिम कायमै रहेको अनुमान गर्न सकिन्छ । मुलुकको सिंगो जनसंख्यामा तथ्यांकले कुष्ठरोग निवारण भएको देखिए पनि झापासहित कतिपय जिल्लामा भने जोखिमको अवस्था छ । कुष्ठरोगमा रोगीको पहिचान, उपचार र नियमित औषधि सेवनमा पर्याप्त ध्यान पुगेन भने रोग फैलिन सक्छ । कडा अवस्थामा पुगेका रोगीको उपचारपछि पुनर्स्थापना पनि निकै चुनौतीपूर्ण छ । कुष्ठरोगका बारेमा समाजमा परम्परागत नकारात्मक धारणा व्याप्त छ । यो रोगबारे जनचेतना अभिवृद्धिमा ध्यान दिन आवश्यक छ । तीनै तहका सरकारले कुष्ठरोग निवारणसँगै निर्मूल पार्न विशेष खालको कार्यक्रम ल्याउन जरुरी छ । नयाँ कुष्ठरोगीको खोजी र उपचार, पुराना रोगीको उपचारमा निरन्तरता र पुनर्स्थापनामा अझ बढी ध्यान दिनु आवश्यक छ ।

Facebook Comments