‘छक्का पञ्जा ३’ को छायाकंन अन्तिम चरणमा

दीपाश्री निरौलाको निर्देशन रहेको सिनेमा ‘छक्का पञ्जा ३’ को धेरैजसो छायांकन सकिएको छ । विशेष स्रोतका अनुसार सिनेमामा समावेश दुईवटा गीतको छायांकन बाहेकको छायांकन लगभग सकिएको हो । सिनेमाको छायांकन अन्तिम चरणमा पुगेको उपलक्ष्यमा छायांकनमा रहेको ‘छक्का पञ्जा’ टिमले केही दिनअघि ‘छक्का पञ्जा ३’ को जर्सीसहितको एक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेको छ ।

विश्वकप फुटबलको अवसरमा विभिन्न देशको जर्सी लगाएर फुटबललाई समर्थन गरिरहेका दर्शकमाझ ‘छक्का पञ्जा’ टिमले आफै सिनेमाको नाम भएको जर्सी लगाएर सिनेमाको प्रचार गरेका छन् । पोखरा, तनहुँ, पर्वत, म्याग्दीलगायतका स्थानमा छायांकन गरिएको यो सिनेमाको वैशाख २८ गतेदेखि छायांकन सुरु गरिएको हो । यस सिनेमामा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, निर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग कुवँर, शारदा गिरी, बसन्त भट्ट, प्रियंका कार्की, संजोग कोइरालालगायतको अभियन रहेको छ ।

आमा सरस्वती मुभिज प्रालि तथा आइएमइको प्रस्तुति ‘छक्का पञ्जा ३’ का कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । सिनेमाका निर्माताका रुपमा सुमन गिरी भान्जा, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दिपेन्द्र खनिया र केशव न्यौपाने रहेका छन् ।

Facebook Comments