‘सञ्जु’ले तोड्यो ‘बाहुबली २’को रेकर्ड

बलिउडमा केही चलचित्र असफल हुँदैमा कलाकारको करिअर सकिँदैन । यसको राम्रो उदाहरण बनेका छन्, नायक रणवीर कपुर ।

लगातार असफल चलचित्र बनेपछि रणवीर कपुरको करिअर सकिएको चर्चा हुन थालेको थियो । तर, शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सञ्जु’ले रेकर्डतोड कमाई मात्र गरेको छैन, रणवीर कपुरलाई अबको सुपरस्टारको बाटोमा समेत दौडाइदिएको छ ।

यो चलचित्रले ३ दिनमै १ सय करोडको आँकडा पार गरेको छ । शुक्रबार ३४.७१ करोड कमाई गरेको यो चलचित्रले शनिबार ३८.६० करोड कमाई गरेको थियो ।

तर, आइतबार यो चलचित्रले आक्रामक कमाई गरेको छ । आइतबार चलचित्रले ४६.७१ करोड कमाई गर्दै ३ दिनमै १२०.०६ करोड कमाई गरेको हो ।

Facebook Comments