भेनेजुएलामा पैसाले काम गर्न छाड्यो, कपाल काट्दा केरा र अण्डा दिनुपर्ने अवस्था

काठमाडौं।  कुनै बेला ल्याटिन अमेरिकाकै धनी देश मध्येमा पर्ने भेनेजुएला अहिले आर्थिक संकटको दलदलमा फसेको छ । सुन्दा पनि अचम्म लाग्न सक्छ, तर भेनेजुएलामा अहिले वस्तु किनबेच नभएर साटासाट हुन थालेको छ, कारण आर्थिक संकट नै हो । तीब्र गतिमा मूल्य वृद्धि हुन थालेकाले भेनेजुएलाको मुद्राको क्रयशक्तिमा ह्रास आइरहेको छ ।

यसर्थ, अहिले भेनेजुएलामा कपाल काट्नुपरेमा ५ कोसा केरा र २ वटा अण्डा तिर्नुपर्ने हुन्छ । यसैगरी, ट्याक्सी चढ्दा १ बक्सा चुरोट दिनुपर्छ । ट्याक्सी चढ्दा पैसाको सट्टा चुरोट दिनुपर्ने भएको हो । सर्वसाधारणसँग पैसा अभाव भएपछि यस्तो अवस्था आएको हो।

भेनेजुएला विश्वको सबैभन्दा ठूलो पेट्रोलियम भण्डार भएको देश हो । यसको अर्थतन्त्रको मुख्य स्रोत पेट्रोलियम खानी नै हो । कुनै बेला ल्याटिन अमेरिकाकै धनी देश रहेको भनेजुएलामा आर्थिक संकट आउन थालेको पनि करिब ४ वर्ष भइसकेको छ ।

भेनेजुएलाको केन्द्रीय बैंकले मूल्य वृद्धिको गति अनुसार पैसा छाप्ने गति बढाउन नसकेको त्यहाँको विपक्षीको आरोप छ । यसका कारण गत मे महिनामा भेनेजुएलाको वार्षिक मूल्य वृद्धि दर २५ हजार प्रतिशत पुगेको थियो ।

अत्याधिक र द्रुत गतिमा मूल्य वृद्धिका (हाइपर इन्फ्लेसन) कारण भेनेजुएलाको मुद्राले काम नै गर्न नसक्ने स्थिति आएको आएको हो । अत्याधिक तीब्र गतिमा मूल्य वृद्धि हुँदा वस्तुको भाउ ह्वात्तै बढ्दै जान्छ । सामान्य वस्तु तथा सामान किन्न पनि ठूलो रकम खर्च गर्नुपर्ने हुन्छ ।

यसले नोटको माग अध्याधिक वृद्धि गराउँछ । तर त्यस अनुपातमा आम्दानी र रोजगारी बढ्न सकेको छैन । मुद्राको आपूर्ति भन्दा तीब्र गतिमा वस्तुको भाउ बढिरहेको छ । यसले समग्र अर्थतन्त्रमा समस्या उत्पन्न गराइदिएको हो ।

दु्रतरुपमा मूल्य वृद्धि हुँदा पैसाको अभाव हुन गएको हो । त्यहाँ आज २० रुपैयाँ कप पर्ने चिया भोली नै १०० रुपैयाँ कप पर्ने स्थिति आइरहेको छ । र, अर्को दिन भाउ झन् धेरै पुग्छ । यसरी सामान्य वस्तु खरिदका लागि पनि ठूलो परिमाणमा रकम चाहिने तर आपूर्ति नहुने भएकाले पैसा अभाव चुलिएको हो ।

अफ्रिकी मुलुक जिम्बाब्वेले पनि यस्तै संकटको सामना गरेको थियो । जिम्बाब्वेको आफ्नै मुद्रा काम नलाग्ने भएपछि उसले अहिले अमेरिकी डलर र ब्रिटिस पाउन्ड चलाउँदै आएको छ ।

 

 

Nepalipaisa.com

Facebook Comments