१४ लाख भारु उठाउन हम्मे

विराटनगर, असार २७ । सीमावर्ती भारतीय बजार जोगबनीस्थित भन्सारका अधिकारीले मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका नाममा भारु १४ लाखको बिल पठाएपछि दुबै संस्थाका पदाधिकारी रकम संकलन अभियान थालेका छन् ।

भारतीय भन्सारका अधिकारीले मीरगञ्ज पुल भत्किएर पूर्ण क्षमतामा सञ्चालन नभएको साढे ६ महिनाको अवधिमा सेतुबन्ध-कोसी ब्यारेज भन्सारबाट रिरुट गर्नुपर्दाको यातायात र विविध खर्च भन्दै दुबै संस्थाका नाममा भारु १४ लाखको बिल पठाएका हुन् । मीरगञ्ज पुल भत्किएका बेला दुबै संस्थाको अगुवाइ र अनुरोधमा भारतीय पक्षले सेतुबन्ध-कोसी ब्यारेज नाकाबाट सामान रिरुट गर्न मानेको थियो ।

गत साउन २८ र २९ गते आएको बाढीले मीरगञ्जको पुल क्षतिग्रस्त भएको भदौ ५ गते पत्ता लागेको थियो । ‘त्यस बेला जोगबनी भन्सारका अधिकारीले शर्त राखेका थिए’, उद्योग संगठनका एक पदाधिकारीले भने, ‘उनीहरूले रिरुट गराउन जोगबनीबाट सेतुबन्ध सधैँ जानुपर्ने र यसका लागि भाडामा २ वटा गाडी चाहिने माग गरेका थिए । साथै २ थान कम्प्युटर र मोबाइल सेट पनि मागेका थिए ।’

भारतीय भन्सारका अधिकारीको मागअनुसार २ थान कम्प्युटर र मोबाइल सेट व्यापार संघ र उद्योग संगठन मिलेर तुरुन्त पठाइदिएका थिए । गाडीको हिसाब पछि मिलाउँला भन्ने वचन दिएका थिए । भारतीय भन्सारका अधिकारीले आफो कार्यालयमा पर्याप्त बजेट नआउने र आएको बजेटले रिरुट गराउन नसकिने तर्क दिँदै गाडी र कम्प्युटरको माग गरेका थिए ।

‘हामीले मीरगञ्ज पुलको समस्या एक महिनाभित्र मिलिहाल्छ भनेर उनीहरूका शर्त स्वीकार गर्यौ’, व्यापार संघका एक पदाधिकारीको भनाइ थियो, ‘यति बेला आएर भारु १४ लाखको भुंग्रामा परिन्छ भन्ने कसले सोचेको थियो र ?’ ती पदाधिकारीको भनाइ थियो, ‘त्यति बेला जोगबनी भन्सारका अधिकारीले रिरुटमा एक गाडीको भारु १ हजार दस्तुरी लिन्छौँ, तिमीहरूले गाडी, कम्प्युटर केही व्यवस्था गर्नुपर्दैन भन्ने प्रस्ताव पनि राखेका थिए । तर हामीले त्यो मानेनौँ, तपाईंहरूलाई गाडी दिउँला दस्तुरी नलिइदिनोस् भनेर अनुरोध गर्यौ । अब आएर भारु १४ लाख कसरी सड्ढलन गर्ने कठिन भइरहेको छ ।’

त्यस बेला भाडाका २ वटा गाडी खोजेर सहयोग गरिदिने क्लियरिङ एजेन्ट ललित बोहरा गत फागुन २ देखि फरार छन् । बोहरा व्यापार संघका कार्य समितिका सदस्य पनि हुन् । उनी भन्सार परिसरकै राष्ट्रिय वाणिज्य बैड्ढमा १० करोड रुपैयाँको बाउन्स चेक दिएर घोटाला गरेको अभियोगमा फरार भएका हुन् ।

‘गाडी व्यवस्था गरिदिने फरार छन्’, व्यापार संघका पदाधिकारीले भने, ‘गाडीवालाले दिनको ३ हजार भारु भनिरहेका छन् । अब २ हजारमा व्यवस्था गरेको हो कि ३ हजारमा ? व्यवस्था गरिदिने फरार भए, कहाँ सोध्न जानु ? गाडीवालाले जुन रेट लगायो त्यही दिन बाध्य हुनु परेको छ ।’

उनीहरूले विराटनगर भन्सारबाट कारोबार गर्ने मझौला र ठुला स्तरका व्यवसायीको लिस्ट बनाएका छन् । व्यवसायीको कारोबारको अनुमान गर्दै भारु २५ हजारदेखि १ लाखसम्म उठाउने सूची पनि तयार भइरहेको छ ।

‘सूची त करिब-करिब तयार भइसक्यो’, एक पदाधिकारीले भने, ‘ठुलो कारोबार गर्ने कतिपय व्यवसायी नै कन्जुस छन् । दिन्छुदिन्छु त भन्छन् तर सधैँ तर्किन्छन् । कसरी रकम जम्मा गर्ने समस्या भइरहेको छ ।’

Facebook Comments