डुबेर तीनको मृत्यु

दमक, असार २९ । बर्खा लागेसँगै खोलाले बगाएर र पानीमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको छ । झापा र मोरङमा पानीमा पौडी खेल्ने क्रममा र भौडीमा डुबेर तीनजनाको मृत्यु भएको छ ।

बिहीबार मोरङको मिक्लाजुङ गाउँपालिकामा पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी-१ का १९ वर्षीय दिलकुमार लिम्बू र मिक्लाजुङ-९ महेशचोक बस्ने ७२ वर्षीय भीमबहादुर माझीदमाइ रहेका छन् ।

लिम्बू साथीहरुसँग स्थानीय खोलामा जमेको पानीमा पौडी खेल्न गएका थिए । सोही क्रममा उनको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । यस्तै मिक्लाजुङ-९ कै राम्री खोलामा डुबेर भीमबहादुरको मृत्यु भएको हो ।

त्यस्तै, झापाको चाराआली-केचना सडक खण्ड अन्तर्गत नाला खन्दा बनेको भौडीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नालामा डुबेर भद्रपुर नगरपालिका १ हिमालीचोक निवासी राजु तामाङकी अढाइ वर्षीया छोरी रेविका तामाङको मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार बुधबार बेलुका ७ बजे घरछेउ खनिएको सडक नालामा जमेको पानीमा बालिका डुबेको अवस्थामा स्थानीयले देखेका थिए । डुबेर बेहोश भएका बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

Facebook Comments