भानुको सम्झना

भानुभक्त आचार्यको नेपाली वाङ्मयमा विशिष्ट स्थान र योगदान छ । असार २९ गते तनहुँमा जन्मिएका आचार्यले वाल्मीकि रामायणलाई संस्कृतबाट नेपाली भाषामा अनुवाद गरेका थिए । रामायण अनुवाद गरेपछि उनको नेपाली साहित्यमा विशेष चर्चा भयो । अनुवाद गरेर राखेको रामायणलाई कवि मोतीराम भट्टले प्रकाशन गरेका थिए । आचार्यलाई नेपाली साहित्यमा आदिकविको उपाधिले चिनिइन्छ, जो भट्टले नै दिएको उपाधि थियो । आफ्नै हजुरबुबा श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका उनले घाँसीको प्रेरणाबाट केही गरेर देखाउने प्रण गरेको इतिहास छ । आचार्यलाई नेपालमा मात्र नभई भारतमा पनि उत्तिकै सम्मानसाथ हेरिन्छ । विश्वभरि नेपाली रहेका स्थानमा आचार्यको स्मृतिमा कवि गोष्ठी, साहित्यिक सभाहरु हुने गर्दछन् । २०३ वर्षअघि जन्मिएका आचार्यले रामायण अनुवादबाहेक प्रश्नोत्तर, भक्तिमाला, वधूशिक्षा लगायत कृतिहरु लेखेर नेपाली साहित्यमा जीवन्त स्थान बनाएका छन् ।

आचार्यलाई राणाकालीन संकटपूर्ण र अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने एक मार्गदर्शकको रुपमा हेर्ने गरिन्छ । मनुष्य जीवन र सम्पूर्ण संसारका प्रतीक रागीवन र मृत्युकका प्रतीक रामको राजमहलबाट वनबास यात्रा, लोकहितका निम्ति जस्तोसुकै काम पनि गर्नुपर्छ भन्ने आदर्शलाई आदिकवि आचार्यले प्रचार गरेका थिए । त्यस्तै, एकैसाथ भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, मातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम, जनवात्सल्वजस्ता विषयको समन्वय एवम् समष्टि भाव प्रदान गरेर आचार्यले आदिकवि र नेपालको राष्ट्रिय विभूति जस्ता सम्मान पाएका छन् । आचार्यलाई नेपाली साहित्यको आधारस्तम्भको रुपमा देशविदेश अध्येता, समालोचक एवम् अनुसन्धानदाताहरुले हेर्ने गर्छन् ।

आचार्यलाई उनका कृतिहरुले बहुआयामिक व्यक्तित्व भनेर प्रस्ट भन्न सकिन्छ । छन्दगत साहित्यमा उनले र्पुयाएको योगदानलाई दुई शताब्दीसम्म पनि उत्तिकै सम्मानसाथ हेरिनु प्रशंसनीय हो । सरकारले आचार्यजस्ता कालजयी स्रष्टाहरुलाई जीवन्त बनाउन कार्ययोजना बनाएको पाइँदैन । निजीस्तरमा ठाउँ-ठाउँमा शालिक बनाएर उनलाई अमर बनाइराख्ने र असार २९ गतेका दिन उनको रचना वाचन गर्नेबाहेक अन्य खास कार्यक्रम भएको पाइँदैन । राज्यले आचार्यजस्ता राष्ट्रिय गहनाहरुको संरक्षणका निम्ति बजेट छुट्याएर संग्रहालय बनाइनुपर्छ । पुस्तान्तरै पिच्छे उनको योगदानलाई सम्झनायोग्य बनाउन सरकारको ध्यान जान जरुरी छ । उनको स्मृतिमा कार्यक्रम हुनुले उनीप्रति श्रद्धा झल्किने भए पनि त्यो अपुग छ ।

Facebook Comments