चलचित्र विकास बोर्डमा अध्यक्षको खोजी

निकिता पौडेलको नियुक्ति वर्तमान सरकारले बदर गरेपछि फेरि एकपटक चलचित्र विकास बोर्डको अध्यक्षका लागि काउन्टडाउन सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टीसँग निकट विभिन्न चलचित्रकर्मीले आफो नाम सञ्चार मन्त्रालयमा बुझाइरहेका छन् । केही दिनदेखि बोर्ड अध्यक्षका लागि दुई व्यक्तिको नाम खुबै चर्चामा थियो (दिनेश डिसी र केशव भट्टराई । निर्देशक डिसीलाई बोर्ड अध्यक्ष बनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वयम्ले चासो देखाएका थिए ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण टोलीमा राजेश हमालसँगै उनी पनि थिए । तर, रेडियो कान्तिपुरको स्टेशन म्यानेजरको पदबाट हट्न नसक्नेे कुराकानीपश्चात् केशवलाई बोर्ड अध्यक्षका लागि एक्ला दाबेदार मानिएको थियो । तर, यसमा नयाँ ट्विस्ट आउने भएको छ । गोप्य सुत्रका अनुसार चलचित्र विकास बोर्डको अध्यक्षमा पुराना अभिनेता शिव श्रेष्ठ हुनसक्ने प्रबल सम्भावना रहेको छ । बाहिरी रुपमा बोर्ड अध्यक्षका लागि ’प्रोसेस’ गरेको नबताए पनि केही दिनदेखि उनी मन्त्रालयको चक्कर काटिरहेका छन् ।

मंगलबार निर्देशक डिसीसँग शिवले काठमाडौँको पाँचतारे होटल सोल्टीमा घण्टौँ यसै विषयमा छलफल गरेको खबर प्राप्त छ । शिवले प्रधानमन्त्रीसमक्ष बोर्ड अध्यक्षका लागि आफो नाम सिफारिस गर्न आग्रह गरेको बुझिएको छ ।प्रधानमन्त्री ओली पनि शिवलाई बोर्ड अध्यक्षमा नियुक्त गर्न सकारात्मक देखिएका छन् । उता, बोर्ड अध्यक्षका लागि चर्चामा रहेका केशव भट्टराईको नाम चार महिनाअगाडि नै जनपक्षीय चलचित्रकर्मी संघले मन्त्रालयमा बुझाइसकेको छ ।

अभिनेताद्वय श्रेष्ठ र भट्टराईमध्ये बोर्ड अध्यक्षमा को नियुक्त होला ? वा फेरि यो कथामा नयाँ ट्विस्ट पो आउला कि ? मन्त्रिपरिषद्को निर्णयले नै अब यसको चिरफार गर्नेछ । राजनीतिक नियुक्ति हुने चलचित्र विकास बोर्डको अध्यक्षको कार्यकाल २ वर्षको हुन्छ ।

Facebook Comments