गायकले खोले राँकेमा होटल

इलाम र पाँचथरको सीमावर्ती बजार राँकेमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । मेची राजमार्गमा खोलिएको चामु होटलको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

देउमाई नगरपालिका प्रमुख सूर्य पोखरेल, बुद्धिजीवी युद्ध वैद्य, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्रप्रसाद काफे, मानवअधिकारकर्मी सूर्यकुमार निरौला समेतले होटलको उद्घाटन गरेका हुन् । रोजगारीका लागि करिब तीन वर्ष कोरियामा बिताएका कोरियन भाषा प्रशिक्षक समेत रहेका इलाम देऊमाई १ चमैता निवासी प्रकाश बस्नेतले होटलमा लगानी गरेका हुन् । तीन करोड १५ लाखको लगानीमा स्थापित होटलमा लगानी गरेका बस्नेतले होटल सञ्चालनमा तत्काल पाँचजनालाई रोजगारीको व्यवस्था भएको बताए ।

उनले राँकेमा होटल सञ्चालनमा आएपछि देउमाई नगरपालिका क्षेत्र, पाँचथर र आसपासका क्षेत्र र ताप्लेजुङ पाथिभरा जाने तीर्थयात्रीलाई समेत सहज रुपमा खान र बस्नको सुविधा उपलब्ध गराउने बताए । होटलमा कार्यक्रम सञ्चालनका लागि हलसहित डिलक्स कोठाहरू रहेका छन् । एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म प्रतिदिन लाग्ने डिलक्स कोठा दसवटा रहेका छन् । स्थानीय अर्गानिक खानाका परिकारलाई होटलले प्राथमिकतामा राखेको सञ्चालक बस्नेतले जानकारी दिए । सञ्चालक बस्नेत इलामका चर्चित लोकगायक समेत हुन् ।

देउमाई नगरपालिका १ का वडाध्यक्ष माधव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रमा होटल व्यवसाय अपरिहार्य भएको र पर्यटकहरूलाई सुविधा उपलब्ध गराउन जुट्नुपर्ने बताएका थिए ।

Facebook Comments