‘पुरस्कार’ नदिने भुवन राउत

रमेश तिवारी

झापामा पछिल्लो समय विभिन्न खालका सौन्दर्य प्रतियोगिता आयोजना गर्नेहरुको होड चल्दै गएको छ । प्रदेश, जिल्ला, नगर हुँदै वडास्तरीयसम्मका यस्ता खाले आयोजनाहरुले प्रतियोगिताको विश्वसनीयता मात्र होइन गुणस्तरमा समेत प्रश्न चिन्ह खडा हुन थालेको पाइन्छ । यस्ताखालका होडबाजीमा प्रतियोगिता आयोजना गर्ने र ग्रान्ड फिनालेपछि पुरस्कार दिनुपर्छ भनेर पुच्छर लुकाएर भाग्नेहरुको संख्यामा पनि बृद्वि हुँदै गएको छ ।

करिब एक महिनाअघि झापामा आयोजना गरिएको एसइइ आइकन २०१८ फत्ते गरिसकेपछि विजेतालाई पुरस्कार त परकै कुरा बधाईसम्म नदिई आयोजक संस्था क्लासिक इभेन्ट्स म्यानेजम्यान्ट तथा युथ अवार्डनेस क्याम्पियनका प्रमुख भुवन राउत यसैको प्रत्यक्ष उदाहरण हुन् । आफूहरुले सहभागी हुनुभन्दा अघि विज्ञापन गरिएअनुसारको पुरस्कारको माग गर्दै आए पनि आयोजक संस्थाका प्रमुख राउतले केही पनि नदिने ठाडो जवाफ दिने गरेको विजेताहरुको गुनासो छ । यस प्रतियोगिताकी टाइटल विजेता कञ्चन विमलीले पुरस्कार नदिने भए आफे सहभागी हुँदादेखि ग्रान्ड फिनालेसम्म पुग्दा भएको खर्च फिर्ता गर्नुपर्ने माग गर्दै आएकी छिन् ।

प्रतियोगीता आयोजना गर्दा पैसाको निश्चित रकम नतोकिए पनि केही रकम र काठमाडाँैमा रहेको पेन्टागन इन्टरनेसनल तथा वाइट हाउस कलेजमा उचित छात्रवृत्तिका साथै मोडलिङलगायत विभिन्न खालका सुविधाहरुको प्रलोभनमा परेर आफसहभागी भएको प्रतियोगिताका फस्ट रनरअप रिया बस्नेत र सेकेन्ड रनअरअप रुसिला पुरीको भनाइ छ ।

असार ११ गते मेचीनगरको धुलाबारी टाउन हलमा आयोजना गरिएको यस प्रतियोगिताअघि सहभागीहरुलाई जेठ ५ गतेदेखि एक महिनासम्म बन्दसत्रमा राखिएको थियो । बन्दसत्रमा समेत फिनालेका दिन हिँड्नबाहेक अरु कुनै कुरा नसिकाएको सहभागीहरुको गुनासो छ । आयोजक संस्थाका प्रमुख राउतले टिकट बेचाउनु पर्ने बाध्यत्मक परिस्थितिसमेत सिर्जना गरेको उनीहरुले बताए । प्रत्येक सहभागीबाट दस हजार रुपयाँ लिएका उनले १५ हजारको टिकट बेच्नुपर्ने नत्र आफले सो रकम रकम तिर्नु पर्ने भन्दै ‘दादागिरी’ देखाएको उनीहरुको आरोप छ । यस प्रतियोगिताकी टाइटल विजेता विमलीले ५ सय र १ हजारका टिकट बिक्री गरी जम्मा ८ हजार ५ सय रकम संकलन गरेको र बाँकी पैसा परिवारले तिरिदिएको बताइन् ।

आयोजक राउतले टिकट बराबरको १५ हजार रुपयाँ तिर्न नसक्दा फस्ट र सेकेन्ड रनरअप रिया बस्नेत र रुसिला पुरीलाई प्रमाणपत्र नदिएर यस्ता खालका प्रतियोगिताको खिल्ली उडाइरहेका छन् ।

राउतले पछिल्लो समय फेरि अर्को प्रतियोगीता ‘विर्ता लिटल आइकन’ को आयोजना गरेर प्रचारप्रसार गरिरहेका छन् । झुट र भ्रमको खेतीमा सक्रिय राउत यस प्रतियोगिताबाट पनि पैसा कुम्ल्याउने सपना बुनिरहेका छन् । आफे करिब साठीवटाभन्दा बढी यस्ता इभेन्ट्स गरेको भन्दै विजेता थर्काउने राउतले यसमा पनि धोका दिँदैनन् भन्ने कुनै आधार नभएको उनका जानकारहरु बताउँछन् ।

Facebook Comments