एम्बुलेन्स चालकले लुकाए शव

झापा, साउन ४ । भीरबाट खसेको ढुंगाले टाउकोमा लागेपछि पाँचथर फिदिम-११ का २० वर्षीय रमेश राईलाई उपचारका लागि एम्बुलेन्समा हालेर तराई ल्याइयो । तर, अस्पताल पुग्नै नपाई उनी सवार एम्बुलेन्स नै दुर्घटनामा र्पयो । गम्भीर घाइते रमेश थप घाइते भए ।

घटना बिहीबार बिहान ३ बजेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका-४ चुलाचुलीमोडमा मे. १ च ९५२ नम्बरको एम्बुलेन्सले कमल ५ का ६५ वर्षीय बुद्धिमान राईलाई ठक्कर दियो । पूर्वबाट पश्चिम जाँदै गरेको एम्बुलेन्स ठक्कर दिएलगत्तै अनियन्त्रित भयो । र, राजमार्ग उत्तरतर्फ पल्टियो ।

एम्बुलेन्सको ठक्करबाट राईको घटनास्थलमै ज्यान गयो । प्रहरीका अनुसार एम्बुलेन्स चालक झापा शिवसताक्षी-११ का ३२ वर्षीय सन्तोष पराजुलीले मृतकलाई ब्ल्यांकेटमा पोको पारेर घटनास्थलबाट ६० मिटर उत्तरतर्फ झाडीमा लगेर फाले ।

प्रहरी चौकी केरखाले घटनास्थलमा पुगेर चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । चालकले सुरुमा गाईलाई ठक्कर दिएको र गाई भागेको प्रहरीसमक्ष बताउँदै आएका थिए । घटनास्थलमा ‘स्केच’ गर्न प्रहरी टोली जाँदा ६० मिटर पर शव फेला परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी यामकुमार खड्काले बताए ।

पछि भने एम्बुलेन्स चालकले आफले शव लगेर लुकाएको बयान दिएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चालक पराजुलीलाई २० वर्षसम्म कैद सजाय हुन सक्छ । ‘यो सुनियोजित तरिकाको घटना भयो, अझ ढाकछोप गर्न खोजेको देखियो’, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले भने ।

गम्भीर घाइते रमेश राईलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको छ । एम्बुलेन्समा रहेका उनका सहयोगीहरु फिदिम-११ का २२ वर्षीय जय राई र फिदिम-१३ का ३२ वर्षीय विष्णुझराई सामान्य घाइते छन् । शव लुकाउने कार्यमा उनीहरुले पनि सहयोग गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments