एस्तरलाई सिर्जनाको सम्मान

शनिश्चरे, साउन ५ । करातेमा अन्तर्राष्ट्रिय पदक विजेता झापा अर्जुनधाराकी एस्तर राईलाई यहाँको एक विद्यालयले नगदसहित सम्मान गरेको छ ।
जापानमा सम्पन्न एसियन कराते प्रतियोगितामा कास्य पदक विजेता एस्तर राईलाई सिर्जना शिशु सदनले एक कार्यक्रमका बीच शुक्रबार सम्मान गरेको हो । राईलाई सदनका संस्थापक विशाल बुढाथोकीले सम्मान गरे ।
कार्यक्रममा बोल्दै एसियन कराते रेफ्री तथा झापा जिल्ला कराते संघका सचिव कुमार उप्रेतीले पुरुषभन्दा महिला कम छैनन् भन्ने उदाहरण एस्तरले दिन सकेको भन्दै प्रशंसा गरे । उनले खेलले आप्mनो स्वास्थ्यमात्र नभएर गाउँ, नगर र राष्ट्रको गौरव हुने भएकाले खेललाई सबै क्षेत्रबाट सहयोग जुट्नुपर्नेमा जोड दिए ।
एस्तरले यसअघि दिल्लीमा २०१६ मा सम्पन्न साउथ एसियन प्रतियोगितामा कास्य, २०१७ मा श्रीलंकामा कास्य पदक जितेकी थिइन् । उनको खेलस्तर र प्रतिभाको कदर गर्दैै सम्मान गरिएको बुढाथोकीले बताए । कार्यक्रममा सितोरियो कराते शनिश्चरे डोजोको अध्यक्ष नारदमणि नेपाल, विद्यालय कोअर्डिनेटर लक्ष्मी पौडेललगायतले बोलेका थिए ।
सोही कार्यक्रममा विद्यालयमा अध्ययनरत कराते खेलाडीको अपग्रेडिङ गरिएको थियो । अपग्रेडिङमा राष्ट्रिय खेलकुद परिषदका सहायक प्रशिक्षक दुर्गाराज निरौला र मिना पाठक सहभागी थिए ।

Facebook Comments