प्रकृतिको धनी शैलुङ

शैलुङ एक रमणीय एवम् प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको ठाँउ हो । जुन ठाँउ राजधानी काठमाडौँबाट पूर्वपट्टि दोलखा-रामेछाप जिल्लाको लगभग सिमानाअन्तर्गत उच्च भूभागमा पर्दछ । शैलुङ गुरु पदमसम्भवको एक न्यायिक स्थल हो । जहाँ तीसुम संगे (गुरु पदमसम्भव) द्वारा लुङतेन (आशीर्वाद / उपदेश ) प्राप्त भएको हुँदा शैलुङ भनिएको हो भने बौद्ध परम्पराअनुसार भगवान्लाई चढाइने मण्डलाहरुले नै हालका ती अनगिन्ती थुंकाहरुको स्वरुप ग्रहण गरेको हो भन्ने भनाइ रहेको छ । शैलुङ भौगोलिक विविधता, प्राकृतिक सौन्दर्यताका साथै विभिन्न ऐतिहासिक सांस्कृतिक तथा धार्मिक महत्व एवम् सम्पदाहरुले सुसज्जित रहेको छ । यहाँबाट उत्तरतर्फ पूर्वको लम्जुर पिकेदेखि पश्चिममा मनास्लु रेन्जसम्म अत्यन्तै आकर्षक एवम् मनमोहक हिमशृंखलाहरु देख्न सकिन्छ । ति हिमशृंखलाहरुमा गौरीशंकर, दोर्जिलाक्पा, पूर्वी ध्याच्यू, गङचेन्पो, लाङटाङ, गणेश हिमाल, मनास्लु जस्ता प्रसिद्ध हिमशृंखलाहरु पर्दछन् । त्यस्तै दक्षिणतर्फ चुरे र महाभारतको घनाजंगल तथा पर्वत शृंखलालाई नियाल्न सकिन्छ ।

हावापानी
शैलुङ उच्च भूभागमा रहेको हुँदा यहाँको हावापानी सधैँ चिसो हुन्छ । विशेषत: मंसिर, पुष र माघ महिनामा हिउँ पर्नुका साथै नियमित रुपमा तुषारो पर्ने र पानी बरफ जम्ने गर्दछ । फागुन महिनाको आगमनसँगै चिसो कम हुनुका साथै हिउँ तथा बरफहरु पग्लन थाल्दछ । चैत, बैशाख महिनामा भने शैलुङमा असिना पर्ने गर्दछ । वर्षायाममा भने शैलुङमा भारी मात्रामा पानी पर्ने गर्दछ । असार, साउन, भदौ महिनामा शैलुङमा प्रायजसो बाक्लो हुस्सु लाग्नुका साथै भारी वर्षा हुने गर्दछ । यस समय वनजंगल लगायत सबै तिर हरभरा एवम् हरियाली छाएको हुन्छ ।

शैलुङ वरपर अवस्थित सम्पदाहरु

डाँफे ढु·ा
स्थानीयबासीहरुका अनुसार विगतमा शैलुङ र यसको ठीकविपरीत उत्तरतर्फ अवस्थित कालिञ्चोक डाँडामध्ये कुन अग्लो भन्ने होडबाजी चलेको थियो । जसअनुसार दुवैतिरबाट १/१ वटा डाँफे अर्को डाँडातर्फ बिहान उज्यालो हुनुअगावै पार गर्नुपर्ने शर्त बमोजिम उडाएर पठाउँदा शैलुङबाट जाने डाँफेले कालिञ्चोक डाँडालाई सोझै पार गर्न सफल भएको तर कालिञ्चोकबाट शैलुङ आउने डाँफे हाल उक्त ढंुगा रहेको स्थानमा आइपुग्दा नै उज्यालो भएको हुँदा त्यही बस्नु परेको थियो र कालान्तरमा उक्त डाँफेले नै त्यस ढुंगा स्वरुप लिएको को भन्ने भनाइ रहेको छ ।

देवीथान डा“डा

कालोपानीबाट डाँफे ढुंगा हुँदै गएपछि देवीधान भन्ने ठाँउ पुग्दछ । जहाँ धेरै वर्ष पुरानो देवीको थान रहेको छ । देवीथान भन्दा उत्तरतर्फको डाँडा नै देवीथान डाँडा हो । यदि उक्त डाँडाको फेदी, जहाँ देवीथान रहेको छ, फेददेखि टुप्पोसम्म श्वास नफेरी दौडेर पुग्न सकियो भने मानिसको आयु बढ्छ भन्ने जनविश्वास रहेको छ ।

महादेवथान

देवीथानको पूर्वपट्टि केही दूरी तल जंगलभित्र एक भंयकर ठूलो गुफा रहेको छ । उक्त गुफालाई महादेवको बासस्थानको रुपमा लिने गरिन्छ । त्यसैले वर्षौदेखि मानिसहरुले उक्त गुफाभित्र महादेवको थान बनाई पाठ पूजा गर्दै आइरहेका छन् । विशेषगरी भदौ पूर्णिमाको समयमा यहाँ मानिसहरुको भिड लाग्ने गर्दछ ।

धर्मढोका – पापीढोका र गदउरी (पवित्र जल)

महादेवथान भन्दा केही दूरीमा नजिकै अर्को अलि सानो गुफा रहेको छ । उक्त गुफाको प्रवेशद्वारको अलवा पश्चिमपट्टि चट्टानबाट सानो दुलो (बाटो) बाहिर निस्किएको छ । यसरी त्यस दुलोबाट भित्रबाहिर गर्न सक्ने जति मानिसहरु धार्मिक (सही) र नसक्ने जति पापी भन्ने जस्ता परम्परावादी भनाइ रहेको छ । हरेक १२/१२ वर्षमा एकपटक उक्त गुफाको भित्रपट्टि सबैतिरबाट करिब एक महिनाजति केही सेतो रंगको धमिलो पानी रसिएर चुहिने गर्दछ । उक्त पानी शरीरमा लगाउने र पिउने गरेमा शरीरका सबै रोगहरु निको हुनुका साथै अरु रोग लाग्नबाट समेत बच्न सकिन्छ भन्ने विश्वास रहेको छ ।

गाईको थुन

महादेव थानभन्दा केही तलतिर भिरमा चट्टानबाट गाईको थुनसँग ठ्याक्कै मेल खाने चारवटा ढुंगाको चुच्चो बाहिर निस्केका छन् । जसलाई मानिहरु गाईको थुन को रुपमा लिने गर्दछन् ।

जार काटिएको तरबार

देवीथानबाट केही माथि शैलुङको उपल्लो भागतर्फ उकालो लाग्ने बाटैमा लाम्चो आकारको ढुंगामा तरबारको स्पष्ट आकृति रहेको छ । उक्त तरबारद्वारा त्यस ठाउँमा अरुको श्रीमती लाने जार काटिएको थियो भन्ने स्थानीयबासीहरुको भनाइ रहेको पाइन्छ ।

जुरे ढुंगा शैलुङको उपल्लो भागबाट पूर्वपट्टि केही तल जंगलभित्र एक ठूलो ढुंगा रहेको छ । उक्त ढुंगाको माथिल्लो बीच भागतिरबाट गोरुको जुरोझ आकारमा ढुंगामाथि तिर उठेको छ । धार्मिक मान्यता अनुसार उक्त जोडिएको भागलाई त्य ढुंगाको ढोकाको रुपमा लिने गरिन्छ र जुन विगतमा खुल्ने र बन्द हुने गर्दथ्यो भने कुनै एकपर सरेका महिलाले त्यस ठाउँमा पुजा गर्दा असर (जुठो) पर्न गएकोले उक्त ढोका सधैँको लागि बन्द भएको हो भन्ने भनाइ रहेको छ । जहाँ हरेक वर्ष मंसिर महिनाको एकादशीमा भव्य रात्री मेला लाग्ने गर्दछ ।

शैलुङको उपल्लो भागमा अवस्थित सम्पदाहरु

बौद्ध स्तुपा एवम् बुद्धको मुर्ति

देवीथानबाट करिब आधा घण्टाजति उकालो लागेपछि शैलुङको उपल्लो थुंका अन्य थुंकाहरु भन्दा ठूलो छ । जहाँ सयौँ वर्ष पुरानो विभिन्न ढाँचामा बौद्ध स्तुपाहरु र बुद्धका मूर्तिहरु रहेका छन् । हरेक वर्ष श्रावण पूर्णिमाभन्दा ठीक दुई दिनअगाडि यस ठाउँमा भव्य मेला लाग्ने गर्दछ । यस मेलालाई स्थानियबासीहरु शैलुङ जात्रा भन्ने गर्दछन् । उक्त मेलामा यस भेगका चारैतिरबाट ठूलो संख्यामा मानिसहरु आउने गर्दछन् । विशेषगरी झाँक्रीहरु यस दिनलाई कैलाश महादेवको दर्शन गर्ने पवित्र दिनको रुपमा लिने हुँदा ठूलो संख्यामा हुलका हुल आउने गर्दछन् भने धर्मावलम्बीहरु आफ्नो मृत आफन्तहरुका आत्माको चिर शान्तिका लागि पूजापाठ गर्न आउने गर्दछन् ।

गुरु पदमसम्भवको पाइला

शैलुङको उपल्लो भागको पश्चिमपट्टि एउटा ढुंगामाथि बायाँ खुट्टाको मानव पाइलासँग मेल खाने एक पाइलाको डोप रहेको छ । जुन पाइलालाई गुरु पदमसम्भवको पाइलाको रुपमा दर्शन गर्ने प्रचलन रहेको छ ।

पृथ्वीको नाइटो

गुरु पदमसम्भवको पाइला नजिकै विशेष आकारमा एउटा ढुंगा जमिनभित्रबाट दुई फिट जति बाहिर अलि चुच्चो आकारमा निस्किएको छ । उक्त चुच्चो ढुंगालाई नै स्थानीयबासीहरु पृथ्वीको नाइटोको रुपमा लिने गर्दछन् ।

बाघ, गंगटा र गाई

शैलुङको उपल्लो भागबाट पश्चिमपट्टि ओरालो लाग्दा नलाग्दै केही दूरीको फरकमा लस्करै तीनवटा ढुंगाहरुलाई नै क्रमश: बाघ, गंगटा र गाईको रुपमा लिने गर्दछ । उक्त ढुंगाका लक्षणहरु केही हदसम्म ती जनावरहरुसँग मिल्दोजुल्दो हुन् । बाघको रुपमा लिने ढुंगाको आकृति पश्चिमतिर फर्केको झन्डै बाघ मुख खोलेर बसेको झ देखिन्छ । स्थानीयबासीहरुको भनाइअनुसार बाघले अर्को छेउमा रहेको गाईलाई आक्रमण गर्न खोज्दा अचानक बीचमा गंगाट आई बाघलाई रोकेको थियो भन्ने भनाइ रहेको छ ।

प“गिरी गुम्वा

शैलुङको दक्षिणतर्फ खोलाखर्क भन्दा केही तल जंगलको बीचमा र गाउँको सिरानमा एउटा गुम्बा रहेको छ । उक्त गुम्बाको वास्तविक नाम टशिनामगेल छ्यार्लिङ गुम्बा भए पनि पँगिरी गुम्बाकै नामले बढी प्रख्यात छ । जुन गुम्बा कग्यप समूहमा पर्दछ भने करिब ४० वर्षजति पुरानो हो । चारैतिर हरियाली जंगलको बीचमा शान्त वातावरणमा निकै आकर्षक ढंगले परम्परागत शैलीमा निर्माण भएको हुँदा उक्त गुम्बा ध्यान वा योगा गर्ने, सास्त्र पाठ गर्ने दृष्टिले अति उपयुक्त एवम् महत्वपूर्ण रहेका छ । त्यसैले धर्मावलम्बीहरु लामा गुरुहरुको साथै छिटपुट रुपमा शैलुङ पुग्ने पर्यटकहरु समेत यस गुम्बामा आउने गर्दछन् ।

शैलुङमा पाइने वनस्पति तथा जडिबुटीहरु

लालीगुराँस, चिमाल गुराँस, गोब्रे सल्ला, ठ्याँङरे सल्ला, खस्रु, असारे, शैलुङे फ, जटामसी, पदमचाल, ठूलो ओखती, डेलिङ्ग, हिरेमिरे, सिस्नु, कुकुर पाइले, पहेँलो फ, लालगेडी, आकसेलाहरा, भाले घिरैँला, धसिंग्रे लगायत अनगिन्ती जडिबुटीहरु पाइन्छन् ।

जीवजन्तु तथा पंक्षीहरु
मृग, घोरल, लोखर्के, चितुवा, रातो बाँदर, बाघ, भालु, सेतो ढेडु, मुनाल, हुचिल, जुरेली, लामपुछर्रे, जमनकाँठे, कालिज, लगायत अन्य विभिन्न प्रजातिका चराचुरंगीहरु पाइने गर्दछ ।

Facebook Comments