कलाकारितामा सन्थाल युवा

लीलाराज झापाली

कलाकारितामा प्रवेशका लागि लोपोन्मुख सन्थाल जातिका युवापुस्तालाई घरपरिवारबाट अनुमति छैन । झन् यस समुदायका युवापुस्ताहरु मोडलिङ र गीत संगीतमा लाग्नु भनेको प्राय: असम्भव नै रहेको छ । झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने यस समुदायका युवापुस्ताको मनोरञ्जन भनेको चाडपर्वका बेला मेला र उत्सवमा मौलिक पहिचानका नाचगान गर्नु र अन्य उत्सवहरुमा समेत आयोजकले कार्यक्रमको शोभा बढाउनका लागि सन्थाल नृत्यको समेत प्रस्तुति राख्नुले नै उनीहरुको भाषा र संस्कृतिको संरक्षण हँुदै आएको छ ।

तर, पछिल्लो समयमा झापा तथा मोरङका केही सन्थाल युवाहरु आफ्नो भाषाको गीत संगीतको सिर्जना र मोडलिङमा समेत लागेका छन् । केही समय पहिले झापामा सन्थाल भाषाको चलचित्र ‘बोनोदल’ को समेत निर्माण गरिएपछि सन्थालभाषी युवापुस्ता कलाकारितामा आकर्षण बढेको हो । यसअघि झापामा बनेको बोनोदल फिल्म अन्य समुदायबाट निर्माण गरिएको थियो । फिल्म र कलाकारिताकै लागि भनेर झापा गाउँपालिका ६ शरणामतीका युवा डेबिड मर्डीको नेतृत्वमा डिजेसी सन्थाल फिल्म नेपाल प्रालि सञ्चालनमा आएको छ ।

यो नै नेपालमा दर्ता भएको सन्थाल जातिको पहिलो फिल्म कम्पनी हो । यस कम्पनीबाट हाल गाती ढुलड बोलको गीत धमाधम छायाँकन हुँदै आएको छ । झापा तथा इलामका विभिन्न पर्यटकीय क्षेत्र दोमुखा, सेल्फी डाँडा, जामुनखाडी, सालबारी, कन्याममा धमाधम सुटिङ भइरहेको यस म्युजिक भिडियोमा मुख्य भूमिका डेबिड मर्डी र झापा कमल गाउँपालिकाकी अपना टुडुको रहेको छ ।

यो म्युजिक भिडियो नै सन्थाल भाषाको नेपाली सन्थाल म्युजिक कम्पनीद्वारा निर्माण गरिएको पहिलो म्युजिक भिडियो रहेको कम्पनीका प्रबन्ध निर्देशक तथा नायक मर्डीले बताए । यस गीतमा स्वर भारत झारखण्डका फुर्मल बेस्रा र गीतासिंह बेस्राको रहेको छ भने संगीत चन्दन बेस्राको रहेको छ । म्युजिक भिडियोपछि चाँडै सन्थाल भाषाकै कथानक चलचित्र आशा इमावादिज गाती अर्थात मायाको आश देखायौ नामको फिल्म निर्माण गरिने फिल्म निर्माण समितिका सदस्य झनक सोरेनले बताए । चलचित्र निर्माणपछि लोप हुन लागेको सन्थाली भाषाको संरक्षण मात्रै नभएर ठुलो सङ्ख्यामा रहेका सन्थाली कलाकारहरुले रोजगारी समेत पाउने झनकले बताए ।

नेपालको सबैभन्दा बढी सन्थाल समुदायको बसोबास झापाको झापा गाउँपालिकामा रहेको तथ्याड्ढ रहेको छ । आफरुले निर्माण गरेको सन्थाली भाषाको चलचित्र नेपाल, भारत तथा अन्य तेस्रो मुलुकमा समेत प्रदर्शनमा लैजाने फिल्म निर्माण समितिका राज किस्कुले बताए ।

Facebook Comments