अर्जुनधाराको बजेट ५८ करोड ५८ लाख

शनिश्चरे, साउन १३ । अर्जुनधारा नगरपालिकाले चालु आर्थिक वर्ष ०७५/०७६ को लागि ५८ करोड ५८ लाख ८१ हजार रुपैयाँ बराबरको बजेट शनिबार सार्वजनिक गरेको छ ।

‘हाम्रो अर्जुनधारा नगर कृषि, पर्यटन, शिक्षा र वातावरणमैत्री सहर’ भन्ने नारासहित नगर प्रमुख हरिकुमार रानाले नगरको सभाकक्षमा पत्रकार सम्मेलन गरी दोस्रो नगर सभाबाट पारित नीति तथा कार्यक्रमसहित विनियोजित बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बजेटअनुसार चालु खर्चतर्फ सात करोड ४४ लाख ९५ हजार रुपैयाँ, पुँजीगत खर्चतर्फ २२ करोड ३४ लाख ८६ हजार रुपैयाँ, सशर्त अनुदानबाट हुने खर्च १६ करोड २७ लाख रुपैयाँ, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम/सडक बोर्ड नेपालतर्फ ५२ लाख रुपैयाँ र सामाजिक सुरक्षा भत्तामा १२ करोड रुपैयाँ उल्लेख गरिएको छ ।

नगरपालिकाले यस वर्ष पूर्वाधार विकासमा १५ करोड आठ लाख १० हजार, आर्थिक विकासमा दुई करोड, सामाजिक विकासमा एक करोड ४५ लाख, वातावरण तथा विपद्मा एक करोड २५ लाख ७० हजार र संस्थागत विकास तथा सेवा प्रवाहमा १६ लाख छ हजार विनियोजन गरेको छ ।

नगरपालिकाले आम्दानीको रुपमा नेपाल सरकारबाट वित्तीय समानीकरणबापत नि:शर्त अनुदान १५ करोड ८८ लाख ५६ हजार रुपैयाँ, सशर्त अनुदानबापत १६ करोड २७ लाख रुपैयाँ, नगरपालिकाको आन्तरिक आम्दानीबाट दुई करोड ५० लाख रुपैयाँ, राजश्व बाँडफाँडबापत संघीय सरकारबाट प्राप्त हुने नौ करोड ५० लाख ७० हजार रुपैयाँ, प्रदेश सरकारबाट वित्तीय समानीकरण बापत ४२ लाख १९ हजार रुपैयाँ, राजश्व बाँडफाँडबाट प्राप्त हुने एक करोड ४८ लाख ३६ हजार रुपैयाँ, सडक बोर्डबाट ३५ लाख रुपैयाँ, सामाजिक सुरक्षा भत्ताबापत १२ करोड र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमबापत १७ लाख रुपैयाँ उल्लेख गरिएको छ ।

नगरको नारालाई स्थापित गर्न विषादीरहित नगर बनाउन पहल गरिएको, त्यसका लागि पशु र कृषि शाखा क्रियाशील रहेको नगर प्रमुख रानाको दाबी छ । त्यस्तै, नगर पर्यापर्यटनमा समृद्ध रहेको भन्दै उनले यहाँ रहेका धार्मिकस्थल, वनवाटिका, पार्कहरु व्यवस्थित गर्दै लैजाने प्रतिवद्धता जनाए ।

प्राविधिक शिक्षा जोड दिँदै नगरले सिभिल इन्जिनियरिङसँगै भेटेनरी, कृषिजस्ता शिक्षालाई प्राथमिकतामा राखेर शिक्षालयको स्थापना गर्ने पनि नगर प्रमुख रानाको भनाइ छ । यस्तै, वातावरणमैत्री सहरको रुपमा विकसित गर्न प्रत्येक वडामा अध्ययन गरी विषयगत क्षेत्रको विकास गरिने पनि नगरको भावी योजना रहेको उनले उल्लेख गरे ।

त्यसैगरी भेटघाटमा अर्जुनधारा-६ का वडाध्यक्ष लोकनाथ गौतमले दोस्रो नगर सभाबाट पारित अन्य निर्णयहरु र नगरकी प्रवक्ता सकुन्तला बरालले गत साउन १२ गते नगर कार्यपालिका बैठकबाट पारित निर्णयहरुका विषयमा जानकारी गराएका थिए ।

Facebook Comments