सहाराले २० हजार युवालाई रोजगार बनाउने

बिर्तामोड, साउन १५ । विगत २२ वर्षदेखि सहकारीका माध्यमबाट न्यून आय भएका समूह र सेयर सदस्यहरुको जीवनस्तर उकास्न मद्दत र्पुयाउँदै आएको सहारा नेपाल साकोसले अब कृषि क्षेत्रको प्रविधि विकाससँगै २० हजार युवालाई रोजगार बनाउने योजना अगाडि सारेको छ ।
कार्यक्षेत्रभित्रका ६ वटा जिल्लामा २५ वटा पकेट क्षेत्र निर्धारण गरी त्यसमा २० हजार जनालाई आवद्ध गराउने र उनीहरुलाई उद्यमी बनाउने लक्ष्य रहेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए । उनका अनुसार यसक्रममा १५ वटा बाख्रा र १० वटा कुखुराको पकेट क्षेत्र निर्धारण हुनेछ भने प्रविधयिुक्त कृषिमा जोड दिइनेछ । यसमा १०१ स्थानमा कार्यक्रम सञ्चालन हुनेछ भने किसानहरुलाई ज्ञान र सीप हस्तान्तरण गरिनेछ ।

यस विषयमा संस्थाका सदस्य तथा सरोकारवालाहरुलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको एक कार्यक्रममा कार्यक्रमका संयोजक युवराज शिवाकोटीले अवधारणा प्रस्तुत गर्दै कार्यक्रममा प्रविधिसँगै ऋण पनि प्रवाह गरिने र किसानहरुको आयस्तर उकास्न सहयोग गरिने जानकारी दिए । जसअन्तर्गत प्रविधियुक्त खेती प्रणालीको अवलम्बन गरी व्यवहार परिवर्तन गर्न मद्दत गरिनेछ ।

संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलको अध्यक्षतामा भएको कार्यक्रममा टेक्नोलोजी इनेबल पोभर्टी एन्ड गोट भ्यालु चेन फाइनान्सिङ प्रोजेक्टका राजकुमार अधिकारी, संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले कार्यक्रमको बारेमा मन्तव्य राखेका थिए । कार्यक्रम दुई दिनसम्म चल्नेछ ।

Facebook Comments