भूपूको “आयो रे साउन”

साउनको महिना त्यसै पनि पवित्र मानिन्छ । साउनभर हिन्दु महिला व्रतबसी शिवको पुजा आरधना गरी मनाउने गर्दछन् । यही महिनालाई आधार बनाएर गायक भूपू पाण्डेले नयाँ गीत ‘आयो रे साउन आयो’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । युवा पुस्ताका अत्यन्तै लोकप्रिय गायक पाण्डे समय सार्न्दभिक गीतको भिडियो निकाल्नमा माहिर छन् । दशैँतिहार मात्र होइन महिनासँगै माया प्रेमको मौसमलाई आधार बनाएर उनले दर्जनौँ म्युजिक भिडियोहरु सार्वजनिक गरिसकेका छन् ।

प्रविधिको बढ्दो युगसँगै अघि बढ्नु पर्छ भन्ने मान्यताका साथ अघि बढेका पाण्डे शब्द, संगीत र स्वरमा मात्र होइन एरेञ्जमा पनि अघि छन् । उनले ‘आयो रे साउन आयोे’ गीतको एरेञ्ज पनि आफैँ गरेका हुन् । भजन तथा आधुनिक गीत गायनमा एउटा छुट्टै छाप छोडिसकेका गायक पाण्डेले केही महिनाअघि सार्वजनिक गरेको भिडियो ‘छाता बोकी’ले पनि राम्रो स्थान जमाएको थियो । धेरैले यस गीतको कभर भिडियो निर्माण गरेको युट्युबमा हेर्न सकिन्छ ।

पाण्डेको नयाँ भिडियो ‘आयो रे साउन आयोे’लाई अनिल के मानन्धरले निर्देशन तथा छायाङ्कन गरेका हुन् । साउनमा दारी तथा कपाल काट्न हुँदैन भन्ने पुरानो मूल्य मान्यता बोकेका नयाँ पुस्ताका युवा समूह ग्रामीण भेगमा गुडिरहेको ‘ट्रक’को डालीमा बसेर रमाइलो गरिरहेको भिडियोमा देख्न सकिन्छ । भिडियोमा मेहन्दी लगाएर साउने झरीमा रुझ्दै गरेकी मायालुलाई गायकले सम्झिएका छन् । सुरसा ओझा, गायक स्वयम र अन्य कलाकारहरुको अभिनय रहेको यस भिडियोलाई सीलन लम्सालले सम्पादन गरेका हुन् ।

Facebook Comments