पूरा हुँदै क्षितिज नाट्य समूहको ‘सपना’

झापाको बिर्तामोडमा रहेर अनेकाँै विकृति विसंगतिमाथि नाटकको माध्यमबाट चेतना फैलाउँदै आएको क्षितिज नाट्य समूहको ठुलो सपना पूरा हुने तर्खरमा छ । करिब दुई दशकअघि पाँचथरबाट यात्रा सुरु गरेको यस समूहले झापामा नाट्य घर निर्माण गर्ने सपना बुनिरहेको थियो । झापाका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँग सहयोगको हात फैलाइरहेको यस संस्थाले एक दानवीरबाट जग्गा प्राप्त गरेपछि क्षितिज नाट्य समूहको सपना पूरा हुने भएको हो ।

बिर्तामोड-५ निवासी मनोज निरौलाले नाटक घर निर्माणका लागि १ करोड रुपैयाँ बराबरको तीन कठ्ठा जमिन प्रदान गरेपछि यस नाट्य समूहको सपना पूरा हुन लागेको हो । बृहत् सांस्कृतिक संग्राहलयसहितको नाटक घर निर्माण गर्ने उद्देश्यका साथ नगरपालिकासँग हात फैलाए पनि सुनुवाई नभएका कारण निराश बनेका समूहका अध्यक्ष माधव कल्पित जग्गा प्राप्त गरेपछि हौशिएका छन् । विभिन्न भाषाभाषीको रहनसहन बोकेको झापाकै परिचय बोक्ने नाटक घर निर्माणको आफ्नो अभियान सफलतातिर अघि बढेको उनले बताए । लक्ष्य प्राप्तिका लागि निरौलाले प्रदान गरेको जग्गा प्रेरणाको स्रोत रहेको नाट्यकर्मी कल्पितको भनाइ छ ।

क्षितिज नाट्य समूहले हिउँदबाट नाटक घर निर्माण सुरु गर्ने जनाएको छ । नाट्यशाला तथा थिएटरको अभावमा कला र प्रतिभा भएर पनि व्यावसायिक कलाकार उत्पादन गर्न नसकिरहेको क्षितिज नाट्य समूहलाई जग्गा प्राप्त भएसँगै ऊर्जा मिलेको संस्थाका संस्थापक अध्यक्ष हरि भण्डारीले बताए । नाटक घर निर्माणसँगै झापामा नाट्यकर्मीको हब बनाइने र प्रदेश नम्बर १ मै बिर्तामोडलाई नमुना बनाइने योजना अघि सारिएको नाट्यकर्मी गजेन्द्र पृथकले बताए ।

Facebook Comments