हल्दिबारीको बजेट ४४ करोड

हल्दिबारी, साउन १८ । हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ को लागि अनुमानित वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाले बुधबार हल्दिबारी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७५/०७६ को अनुमानित ४४ करोड ४८ लाख ८५ हजारको बजेट सार्वजनिक गरेको हो । नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ९ करोड ८० लाख, आन्तरिक आय २०७५/०७६ को राजश्व प्रक्षेपणमार्फत एक करोड ६४ लाख, नेपाल सरकारबाट प्राप्त सशर्त अनुलानबाट ११ करोड ३८ लाख, रजिष्टे्रसन बाँडफाँड र स्रोत बाँफाँडबाट ३ करोड ९ लाख ८५ हजार, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानमार्फत ३५ लाख, नेपाल सरकार राजश्व बाँडफाँडमार्फत ६ करोड ५३ लाख, प्रदेश सरकारबाट सशर्त अनुदान एक करोड, सामाजिक सुरक्षा भत्तामार्फत ८ करोड ६९ लाख र सम्पत्ती बिक्रीबाट २ करोड अनुमानित आय रकम रहेको छ ।

त्यसैगरी, आर्थिक विकासका लागि ३ करोड, भौतिक पूर्वाधारका लागि ४ करोड, सामाजिक विकासका लागि ३ करोड, वन वातावरण विपद् वस्थापनका लागि ५० लाख, संस्थागत विकास तथा सेवा प्रवाहका लागि ५० लाख, समपूरक कोषका लागि एक करोड, सामाजिक सुरक्षा अनुदानका लागि ८ करोड ६९ लाख, वडागत कार्यक्रमतर्फ २ करोड २० लाख, आर्थिक वर्ष २०७४/२०७५ मा सञ्चालित योजना तथा कार्यक्रमहरुको भुक्तानी दिन बाँकी ५ करोड २१ लाख ८५ हजार, चालु खर्चतर्फ ४ करोड, प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान खर्च एक करोड र नेपाल सरकारबाट प्राप्त हुने सशर्त अनुदान खर्चतर्फ ११ करोड ३८ लाख खर्चतर्फ रहेको छ ।

गाउँपालिकाले कार्ययोजनासहितको नारा निर्माण गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले पूर्वको ‘पर्यटकीय स्थल, हल्दिबारी र जलथल’, ‘हल्दिबारीको वाचा, झापाभरि माछा’, ‘साहित्य मन, कृषि र पर्यटन’, ‘हल्दिबारीका महिला, विकासमा पहिला’, ‘फेरि पनि घुम्न जाउँ, हल्दिबारी गाउँ’, ‘किसानको खुसी, पशुपालन र कृषि’, ‘मैले तिरेको कर, गाउँपालिकाको भर’, ‘समृद्धिका पालक, हल्दिबारीका बालक’, ‘हल्दिबारीको दृष्टि, कृषि र पर्यटनमार्फत समृद्धि’ लगायतका नारासहितको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ ।

सोही कार्यक्रमका बीच गाउँपालिकालाई १४ कठ्ठा ७ धुर जग्गा उपलब्ध गराउने खड्गमाया थामसुहाङ, ७ कठ्ठा १ धुर भूपाल लिम्बू, ४ कठ्ठा तिलकप्रसाद सुवेदी, ४ कठ्ठा, सन्तोष माङहिम र १ कठ्ठा माइतीराज राईलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगरपालिकामा तिर्नुपर्ने ४ वर्षको करसमेत मिनाह गरिएको जनाइएको छ । त्यसैगरी, गाउँपालिकाका सर्वोत्कृष्ट कर्मचारीका रुपमा खरिदार नारायण दाहाल र उत्कृष्ट कर्मचारीका रुपमा लेखापाल दिपकचन्द्र आचार्यलाई सम्मान गरिएको थियो । उनीहरुलाई सम्मानपत्रसहित क्रमश: २५ हजार र २० हजार नगद पुरस्कार समेत प्रदान गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संघीय संसद सदस्य राजेन्द्र लिङ्देन रहेको थिए । वडा नम्बर २ का अध्यक्ष राजेन्द्र योङहाङले स्वागत गरेको कार्यक्रममा प्रदेश सांसद पूर्णसिंह राजवंशी, पूर्वसभासद मोहन टुडुलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले गरेका थिए ।

Facebook Comments