कराते ग्रेडिङमा एन्जल प्रथम

शनिश्चरे, साउन २० । बुद्धशान्ति गाउँपालिका ३ मा भएको दुई विद्यालयका कराते खेलाडीबीचको ग्रेडिङमा एन्जल तामाङ प्रथम भएका छन् ।

महानन्द शिक्षा सदन र ज्योति अंग्रेजी माध्यमिक विद्यालयअन्तर्गतको डोजोमा आवद्ध खेलाडीको सहभागितामा भएको ग्रेडिङमा प्रिमितिवा संग्रौला दोस्रो र माल्भिका श्रेष्ठ तेस्रो भएको एसियन कराते रेफ्री कुमार उप्रेतीले बताए । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक दुर्गाराज निरौला, विद्यालयका सञ्चालक रोहित संग्रौला, एसियन रेफ्री उप्रतीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

जिल्ला कराते संघ झापाका महासचिव समेत रहेका उप्रेतीले कराते खेल र ग्रेडिङका विषयमा जानकारी गराएको कार्यक्रममा इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरीक्षक पदमसुन्दर लिम्बू, एकेएफ रेफ्री सञ्जीत मोहोली, बुधबारे सितोरियो कराते डोजोका प्रमुख प्रकाश माझी, प्रशिक्षक मदन भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments